२०८१ पुष ११
बुटवल १० पुस ।
लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले स्वास्थ्यका बारेमा सचेत हुनुपर्ने बताएका छन् । बुटवल स्थीत गौतमवुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १२ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन एंव गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको १२ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोग लाग्नबाट बच्न स्वस्थ्यमा सचेत हुनुपर्नेमा जोड दिएका हुन । गीत र कविता समेत प्रस्तुत गरेका उनले स्वास्थ्य तथा सरकारका कामका बारेमा धारणा राखेका थिए ।
उनले सरकारमा बस्नेहरुले राम्रो गर्नुपर्ने पनि बताए । उनी भन्दा अगाडी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु बोलेका थिए । प्रदेश प्रमुख घर्तीले सरकारलाई काम गर्नका लागि सहज परिस्थिति रहेको भन्दै बोलीमा मात्रै नभई व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्यका क्षेत्रमा प्रदेश सरकारले खेलेका भुमिकाका बारेमा चर्चा गरेका थिए । अस्पतालका अध्यक्ष एजाज आलमले मुटु अस्पतालको स्थापना तथा यसले खेलेको भुमिकाका बारेमा चर्चा गर्दै मुटु अस्पतालको सेवा विस्तार गर्न जग्गा प्राप्ती तथा भवन निर्माणमा सहयोगको खाचो रहेको धारणा राखेका थिए । हाल भाडाको घरमा सञ्चालन हुँदै आएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका लागि तिलोत्तमामा प्राप्त हुने जग्गामा अस्पतालको भवन बनाउने र सेवाको गुणस्तर बढाउने गरी विकास गर्ने योजना उनले प्रस्तुत गरे ।
२०७० पुस १० गते स्थापना हुदा एक जना मुटुरोग विशेषज्ञसहित ६ जना चिकित्सकसहित ४५ जना कर्मचारीबाट शुरु भएको अस्पतालमा हाल वरिष्ठ मुटुरोग विशेषज्ञ ५, मुटुरोग विशेषज्ञ १, मृगौलारोग विशेषज्ञ १, जनरल फिजिसियन २, एमडी रेडियोलोजिष्ट १, एमडी क्रिटिकल केयर १, मेडिकल अफिसर १६ जना, दाको लमहीमा १२, पाल्पाको तानसेनमा १२, स्याङजाको वालिङमा ११ र कपिलवस्तुको ४ नम्वरमा ११सहित ३०३ जना कर्मचारीबाट सेवा प्रदान गर्दै आएको सस्थाका सचिव दिनेशराज रेग्मीले बताए ।
कार्यक्रममा संविधान सभा सदस्य नेत्र पन्थी, पूर्वस्वास्थ्यमन्त्रीहरु तथा लुम्बिनी प्रदेशसभा सदस्यद्वय भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, मुटु अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर समिर गौतम, रोटरी क्लबका गभर्नर देवेन्द्र ध्वजु, बुटवल उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले स्वास्थ्य क्षेत्रमा मुटु अस्पतालले खेलेको भुमिकाको चर्चा गरेका थिए । मुटु अस्पतालमा सेवा लिने विरामीहरुमा मुटु तथा मृगौला रोगसग सम्वन्धित विरामी धेरै रहेका छन् ।