२०८१ पुष १२
बुटवल ११ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेको बताएका छन् ।
सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार लागि परेको उनको भनाइ छ। गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङको लमहीमा बिहिवार गरेको प्रदेशस्तरीय नागरिक सम्मेलनको उद्घाटन गर्दै उनले सुशासन कायम भए भ्रष्टाचार अन्त्य हुने बताउदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनिकरण गर्न पाँच बर्षे रणनीतिक योजना कार्यान्वयनमा लगिएको बताए । नागरिकमा बढ्दै गएको निरासालाई चिर्न सुशासन प्रबर्द्धन र भ्रष्टाचार बिरुद्धका अभियानलाई प्राथमिकता दिएको रनेतृत्वमा रहेकाहरुलाइ नै केन्द्रीत गरेर आचारसंहिता निर्माण गरेर लागू गरेको पनि उनले बताए । प्रदेश सरकारले गर्ने काम प्रति नागरिकहरु गुनासो गर्न पाउने र त्यसको सुनुवाइ गर्ने संयन्त्रको विकास गरिएको भन्दै उनले गुनासा पेटिकामा प्राप्त सुझाव तथा समस्याहरू सम्बोधन गर्ने कार्यलाई निरन्तरता दिइरहेको उल्लेख गरे।
मुख्यमन्त्री आचार्यले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहितामा बाँधिएको र खर्च कटौतीका लागि विशेष पहल गरिएको भन्दै भ्रष्टाचार नियन्त्रण गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताए । भ्रष्टाचार रोक्न सबै नागरिक, संघसंस्था र सरकारी निकायले एकैसाथ हातेमालो गर्नुपर्छ । यसले प्रदेशमा सुशासनको सुनिश्चितता गर्न सकिन्छ, उनले भने, भ्रष्टाचार बिरुद्धको अभियानमा सबै संगसंगै अगाडि बढ्न जरुरी छ ।
प्रदेश सरकारले जनमुखी कानून निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै दलित सशक्तीकरण विधेयक, अपांगमैत्री कानून बनाउन आवश्यक विधेयक अघि बढाउने प्रतिबद्धता जनाए । कार्यक्रममा सम्मेलनको तर्फबाट मुख्यमन्त्री आचार्यलाई घोषणापत्र समेत हस्तान्तरण गर्दै कार्यान्वयन गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री आचार्यले सम्मेलनले उठाएका सवालहरुलाइ सम्बोधन गरिने बताए ।