२०८१ माघ २

लुम्बिनीमा माघी पर्व उत्सव
  • लुम्बिनी खोज
  • २०८१ माघ २, बुधबार ०९:५५ गते

मौलिक संस्कृतिलाई आयआर्जन संग जोड्ने सरकारको योजनाः मुख्यमन्त्री आचार्य
बुटवल २ माघ ।
लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा माघी मिलन कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजधानी परिसर राप्ती उपत्यका देउखुरीमा बुधवार माघी मिलन कार्यक्रम गरेको हो ।
थारु, मगर, नेवारलगायतका समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी सहित प्रदेश सरकारले भब्य रुपमा माघी मिलन कार्यक्रम गरेको छ । थारु समुदायको रैथाने खानाहरुको प्रवद्र्धन गरिएको छ । ढिक्रि, खरिया, बरिया, फुलौरीलगायतका परिकारहरु समेत पस्किएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघ मिलन कार्यक्रमको उद्घाटन गर्दै मौलिक कला संस्कृतिको संरक्षण संगै त्यसलाई आय आर्जन संग जोड्नेगरी प्रदेश सरकारले कार्यक्रम बनाएको बताए।‘माघे संक्रान्ति तथा माघ साझा पर्व हो । लुम्बिनि प्रदेशमा भावनात्मक सम्बन्ध बलियो बनाउन र थप एकता कायम गर्न मद्दत गरेको छ’उनले भने,‘मौलिक कला संस्कृतिलाइ पर्यटन संग जोड्न जरुरी छ । कला संस्कृतिलाइ पर्वमा मात्रै सिमित गर्ने होइन, अन्य दिनमा पनि संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्न जरुरी छ ।’
प्रदेश सरकारले थारु तथा मगर समुदायको कला संस्कृतिको संरक्षण गर्दै आयआर्जन बढाउन होमस्टे सञ्चालनकालागि सिप हस्तान्तरण गर्ने पनि उनले बताए ।‘हाम्रा कला संस्कृतिलाई जोगाउदै समुदायको आर्थिक आम्दानी संग जोड्न जरुरी छ । यसकालागि प्रदेश सरकारले होमस्टे सञ्चालनकालागि बजेटको व्यवस्था गरेको छ’उनले भने,‘समुदायको आर्थिक सशक्तिकरण नगर्दा सम्म समृद्धि र विकासको चाहना पुरा हुन सक्दैन । यसअर्थमा कला संस्कृतिको संरक्षण र प्रवद्र्धन जरुरी छ ।’
प्रदेशको विविधता आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने खालको भएकाले त्यसको प्रचारप्रसार गर्दै पर्यटक आवागमनलाई बढाउन उनले जोड दिए । प्रदेश सरकारले मौलिक पर्वहरुलाई सम्मान गर्दै प्रवद्र्धनको नीति लिएको र सोही अनुरुप प्रदेश स्थापना भएदेखी माघ पर्वलाई भब्य रुपमा आयोजना गरिदै आएको जानकारी दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख तुलाराम घर्तीमगरले माघ साझा पर्व भएकाले यसले मौलिक कला संस्कृती संरक्षणगर्न महत्वपूर्ण भूमिका खेलेको बताए।
‘पहिचानहरुको संरक्षण गर्न जरुरी छ । यसकालागि सभ्यता जोगाउन आवश्यक छ’उनले भने,‘प्रदेश सरकार स्थापनाभएदेखी मौलिक कला संस्कृतिको संरक्षण गर्न तल्लिन छ ।’ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले माघ पर्वले एक आपसमा भावनात्मक सम्बन्ध बलियो बनाउन भूमिका खेलेको बताए ।‘मौलिक सांस्कृतिकले समुदायमा खुसि र उत्सव कायम गरेको छ, उनले भने,‘कला संस्कृतिको संरक्षण गर्दै अव आर्थिक गतिविधिलाई बढाउन जरुरी छ ।’ प्रदेश सभा सदस्य निमा गिरीले मौलिक कला संस्कृतिको सम्बर्द्धन सबैको साझा मुद्दा बनेको बताइन् ।
आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रेखा कँडेल, बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले पनि बोलेका थिए । प्रदेश सरकारले माघ पर्वलाई सम्मान गर्दै आज सार्वजनिक विदा समेत दिएको छ ।