२०८२ बैशाख ६

लुम्बिनी प्रदेश स्थापना दिवसः प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड
  • लुम्बिनी खोज
  • २०८१ माघ २१, सोमबार ११:५५ गते

बुटवल २१ माघ ।
लुम्बिनी प्रदेशको आठौं स्थापना दिवस उत्सवको रुपमा मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजनामा सोमवार स्थापना दिवस उत्सवको रुपमा मनाइएको हो ।
प्रदेश सभा परिसर राप्ती उपत्यका(देउखुरी)मा आयोजना गरिएको दिवसको मुल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयगत स्टलहरु राखेर सरकारले गरेका कामहरु सार्वजनिक गरिएको छ ।
कार्यक्रममा प्रदेशलाई बलियो र स्थापीत बनाउन संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयननै आजको आवश्यकता रहेकोमा जोड दिइएको छ । संघीय शासन व्यवस्था लागु भएपनि प्रदेशलाई बलियो बनाउने सवालमा संघीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुनेमा पूर्व मुख्यमन्त्रीसहितका बक्ताहरुले जोड दिए । तीन तहको सरकार मध्य प्रदेश संघीयताको बलियो आधार भएको, संघीय शासनलाई बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उनीहरुको जोड छ ।
कार्यक्रममा वोल्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्थानै संघीय शासन व्यवस्था भएको भन्दै जनताको सेवकको रुपमा जनप्रतिनिधि रहेकाले सेवा भावले काम गर्नुपर्ने धारणा राखे ।
‘जनताको शासन हो । यहाँ जनतानै जनादर्शन हुन’उनले भने,‘जन भावना अनुसारनै काम कारबाही अघि बढ्नुपर्छ ।’

मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बीचमा प्रदेशलाई अब्बल बनाउन सक्नेगरी लुम्बिनी प्रदेशले उदारण दिन सफल भएको जिकिर गरे ।
प्रदेश तहमा अझैं धेरै कानुनहरु तर्जुमाको चरणमा रहेको, सङ्घीय कानुनको निर्माण तथा मापदण्डको तर्जुमाका विषयमा सङ्घीय सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको भनाई उनको छ ।
सभामुख तुलाराम घर्तीमगरले प्रदेश तह संघीयताको नयाँ संरचना भएकाले यसको स्थायित्वको लागि सबैले प्राथमिकतामा राख्नुपर्ने आवश्यक रहेको बताए ।
वास्तविक संघियताको अभ्यास गर्ने थलो प्रदेश तह हो’उनले भने,‘संघीय शासन प्रणालीलाई बास्तिक रुपमा आत्मसाथ गर्न जरुरी छ ।’
नेपाली कांग्रेसका दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले ध्यान दिनुपर्ने बताए ।‘गालि हामीले खानुपर्ने, अधिकार सिंहदरवारमा राख्ने,,‘अधिकार तलसम्म पुग्छ भनेर संविधानमा लेखियो । तर, अझैं अधिकार माथिनै रह्यो ।’ प्रदेशलाई बलियो बनाउन अधिकार सम्पन्न बनाइनुपर्ने धारणा उनको छ ।
प्रतिपक्ष दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैको विचमा साझा प्रतिबद्धता चाहिने बताए ।
पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आफुलाई अब्बल सावित गर्न अझैं ऐतिहाँसिक कामहरुलाई अघि बढाउन आवश्यक रहेको धारणा राखे ।
नेकपा एमाले संसदीय दल उप–नेता भोजप्रसाद श्रेष्ठले प्रदेश तहमा अझै उत्साह थप्न जरुरी रहेको बताए ।
प्रदेश स्थाना दिवसमा ११ वटा विभिन्न झाँकीहरु प्रदर्शन गरिएका थिए । जस मध्ये शितगंगा नगरपालिकाको सोरठी भैलो झाँकी पहिलो, पञ्चेबाजा झाँकी गढवा दोस्रो, झुम्रा नाच राप्ती गाउँपालिका र काहरवा नाच राजपुर गाउँपालिकाले तेस्रो स्थान हाँसिल गरेका थिए । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लगायतले स्टलहरु राखेका थिए ।