२०८१ माघ ३०
बुटवल २८ माघ ।
अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा ६ महिनामा मात्रै १ हजार ८१ उजुरी परेका छन् । कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलका अनुसार यी उजुरी मध्ये ६४० फछर्यौट भएका छन् ।
अख्तियारको बुटवल कार्यालयले लुम्बिनी प्रदेशका ८ जिल्ला हेर्दछ । रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, पाल्पा, अर्घाखाची, गुल्मी र प्यूठान गरी ८ जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयबाट बिस्तृत अनुसन्धानमा रहेका ११६ उजुरी मध्ये ५२ वटा फछर्यौट भएका छन् ।
कार्यालयमा भुमि तथा वन, कृषि तथा पशु क्षेत्रको अनुदान कार्यक्रम सम्वन्धी, प्राकृतिक स्रोत साधनको उपयोगसग सम्बन्धित तथा आयोजना निर्माण तथा खरिदसग समबन्धित उजुरी पर्ने गरेका छन् । यहा उपभोत्ता समितिसग सम्वन्धित देखि शिक्षा क्षेत्रका विभिन्न उजुरी पर्ने गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा बुटवल कार्यालयले सोमबार गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण वहादुर घर्ती मगरले सुशासनको प्रत्याभुति हुने गरी काम हुनुपर्नेमा जोड दिए । भष्ट्राचार बहुआयामिक विषय भएकाले न्यूनिकरणका लासिग सबैको साझा प्रयास हुनुपर्ने धारणा पनि उनले राखे । जनतामा निराशा हुन नदिने गरी काम गर्नुपर्ने पनि उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताए । उनले प्रदेश सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर पाँच वर्षे रणनीतिक कार्ययोजना लागू गरिसकेको बताउँदै आफुले मुख्यमन्त्रीको पद बहाली गर्दै गर्दा नै भ्रष्टाचार विरुद्ध रणनीतिक योजना बनाउने निर्णय गरेको बताए ।