२०८१ फाल्गुन २८

महाकुम्भ मेलाबाट फर्किँदै गरेको सवारी दुर्घटनामा श्रीमान्–श्रीमतीसहित तीनजनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८१ फाल्गुन ५, सोमबार ११:२१ गते

बुटवल ५ फागुन ।
रुपन्देहीको देवदहबाट महाकुम्भ मेला स्नान गर्न गएको टोली मेलाबाट फर्किँदै गर्दा सवारी दुर्घटनामा परेको छ । भारतमा भएको दुर्घटनामा देवदहका एक दम्पतीसहित तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । मृत्यु हुनेहरूमा देवदह नगरपालिका– ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गंगा शर्मा रहेको देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताइन् ।
कुम्भ मेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ वाराणसी रोडको डिभाइडरमा ठोक्किएर उनीहरू सवार युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी घाइते हुनेमा देवदह– ९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडीचालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गोरखपुर पठाइएको भारतीय प्रहरीबाट जानकारी आएको प्रहरीले जनाएको छ ।