२०८१ फाल्गुन २८
प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन
दाङ ५ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अभियानमा सरकार लागेको बताएका छन् । उनले आफू कसैको पार्टी फुटाउनेतिर नलागेकोसमेत बताए। ‘हामी देश बनाउन लागेका छौँ, कसैको पार्टी फुटाउनतिर लागेका छैनौँ,’ उनले भने, ‘पार्टी कसैले बनाइदिने र फुटाइदिने भन्ने हुँदैन, चासो पनि छैन। आफ्नो पार्टी आफैँ बनाउने हो।’
आज लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको पनि बताए । गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिक स्थलहरूले यो प्रदेशलाई विशेष बनाएको बताए ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताए ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन, र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्दै, मानव केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
सिंचाइ आयोजना सफल बनाउँदै कृषिलाई प्रवर्द्धन गर्नुपर्ने र वातावरण संरक्षणसँगै विकासका कार्यहरू अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री ओलीले प्रविधिको सही सदुपयोगमा पनि जोड दिए ।
प्रदेशहरूले कानूनी संरचना निर्माण गर्दा संघीय सरकारद्वारा स्थापित मौजूदा कानूनहरूलाई आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिए।