२०८१ फाल्गुन २९

नयाँ राष्ट्रिय आन्दोलन शुरु गर्नुछ, लाखौं जनता सडकमा उतार्छौँः प्रचण्ड
  • लुम्बिनी खोज
  • २०८१ फाल्गुन २८, बुधबार १३:१८ गते

बुटवल २८ फागुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामीहरुका विरुद्धमा तथा सरकारका गलत क्रियाकलापका विरुद्धमा नया राष्ट्रिय आन्दोलन गर्ने बताएका छन् । प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने उनको भनाइ छ ।
मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलनको बुधवार बुटवलमा उद्घाटन गर्दै उनले सरकारका गलत क्रियाकलापका कारण निरास भएका जनतामा भ्रम दिएर प्रतिगमनले टाउको उठाउन खोजेको भन्दै उनले प्रतिगामी चलखेललाई सफल हुन नदिइने पनि बताए ।
अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेको उल्लेख गर्दै उनले यी दुबै हर्कतका विरुद्ध आवश्यक परे लाखौं जनता सडकमा उतारेर खबरदारी गर्ने बताए।
अहिलेको राजनीति परिवर्तन विशेषतः संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको प्रचण्डले स्पष्ट पारे।
अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने चेतावनी दिए।कार्यक्रममा पार्टीका महासचिव देव गुरुङले माओवादीको नेतृत्वपमा समाजवादी क्रान्तिको विकल्प नभएको भन्दै अग्रगामी यात्रामा लाग्न सबैलाई आब्हान गरे । उपमहासचिव वर्षमान पुन अनन्तले उत्पीडित वर्ग समुदायका पक्षमा भएको परिवर्तनका विरुद्ध धावा वोल्नेहरुका विरुद्ध लाग्नुपर्नेमा जोड दिए ।
सचिव चन्द्रप्रकास खनाल बलदेवले प्रतिगमनकारीका विरुद्धमा क्रान्तिकारी सक्तिहरु एक हुनुपर्ने धारणा राखे । कार्यक्रममा माओवादी नेतृ ओनसरी घर्ती, माओवादी नेताहरु सुरेश आलेमगर, सुर्दशन बराललगायतले प्रतिगामी षणयन्त्रका विरुद्ध एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।