२०८२ बैशाख २३

बुटवलमा मनाइयो जितगढी विजय उत्सव
  • लुम्बिनी खोज
  • २०८२ बैशाख ७, आईतवार १२:४९ गते

जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल लिन्छौंः मुख्यमन्त्री आचार्य
बुटवल ७ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न प्रदेश सरकारले पहल लिने बताएका छन् । संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई सूचिकृत गर्ने उल्लेख गर्दै उनले राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास गरिने बताए ।
जितगढी विजय उत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि संघीय सरकारसँग पहल गरिने बताए । इतिहासबाट धेरै कुरा बुझ्न र सिक्न आवश्यक रहेको उल्लेख गर्दै उनले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताए ।
त्यस्तै, मुख्यमन्त्री आचार्यले बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजनालाई दृढताका साथ कार्यान्वयन गरिने बताए। स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवलको उन्नति र समृद्धिका निम्ति बनाइएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले बताए ।जितगढी उत्सव समारोहमा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जितगढीको ऐतिहासिक महत्वको चर्चा गरेका थिए । उनले जितगढीमा जित हासिल गर्न नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापाको योगदानको उच्च सम्मान गर्नुपर्ने धारणा समेत राखेका थिए । कार्यक्रममा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु मर्हजन, बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्याल, लेखक देवेन्द्रराज शाक्यलगायतले जितगढीको महत्वका बारेमा चर्चा गरेका थिए ।

नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा रुपन्देहीको बुटवलस्थित जितगढीमा उत्सव मनाइएको हो । नेपाल–अंग्रेज युद्धका बेला बुटवलको जितगढीमा नेपाली फौजले अंग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य छ ।
हार व्यहोरेपछि नेपाल कब्जा गर्न आएको अंग्रेज फौज पछि फर्किएको थियो । जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले वि.सं. १८७२ साल वैशाख ७ गते अंग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको थियो । सोही खुसियालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ ।
उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बुटवल उपमहानगरको प्रवर्द्धनमा आयोजित उक्त उत्सवमा विभिन्न कलाकारहरूले देशभक्ति गीत तथा नृत्य प्रस्तुत गरेका छन् । गौरवमय इतिहास बोकेको जितगढी किल्लामा नेपाली सेनाले जितेको स्मरण गर्दै उत्सव मनाउने परम्परा कायम गरिएको हो ।
वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेका थिए । त्यही फौजले वि.सं. १८७१ सालदेखि सुरु भएको पटक–पटकको आक्रमण सामना गर्दै अन्ततः वि.सं. १८७२ वैशाख ७ गते विजय हासिल गरेको थियो ।
अंग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो ।कार्यक्रममा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु मर्हजन, बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्याल, लेखक देवेन्द्रराज शाक्यलगायतले जितगढीको महत्वका बारेमा चर्चा गरेका थिए ।