२०८२ बैशाख २४

कक्षा १२ को परिक्षामा रुपन्देहीका ६३ केन्द्रबाट २४ हजार विद्यार्थी सहभागि हुने
  • लुम्बिनी खोज
  • २०८२ बैशाख २०, शनिबार १२:१९ गते

बुटवल २० वैशाख ।
कक्षा १२ को परिक्षामा रुपन्देहीका ६३ केन्द्रबाट २४ हजार विद्यार्थी सहभागि हुने भएका छन् । जिल्लाका १४ वटा पालिकामा ४८ वटा सामुदायिक विद्यालय १३ वटा निजी विद्यालय र दुईवटा पब्लिक क्याम्पस गरी ६३ वटा परीक्षा केन्द्र कायम गरिएको छ। रूपन्देही जिल्लाका १६ वटै पालिकाका १ सय ६६ वटा विद्यालयका १८ हजार ९ सय ८६ नियमित र ५ हजार १ सय १० आंशिक गरी २४ हजार ९६ विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन्।
परिक्षाको तयारीका क्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश बुटवलको आयोजनामा कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी केन्द्राध्यक्षहरूको लागि अभिमुखीकरण कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ ।
जिल्ला परीक्षा समन्वय समिति रूपन्देहीका अध्यक्ष एवं रूपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले कक्षा १२ को बोर्ड परीक्षामा हेल्थ डेस्क, परीक्षाको वातावरण ,परीक्षा हल व्यवस्थापन ,प्रश्नपत्र प्राप्ति ,वितरण सञ्चालन र व्यवस्थापनका लागि केन्द्राध्यक्षहरूको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न र शान्ति सुरक्षा व्यवस्थापनमा सुरक्षा प्रमुखहरूले विशेष ध्यान दिन निर्देशन दिएका थिए । अभिमुखीकरण कार्यक्रम सहभागि नवीन औद्योगिक कदरबहादुर रीता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार कार्यक्रममा परिक्षाका विविध पक्षमा जानाकारी गराइएको थियो ।
जिल्ला परीक्षा समन्वय समिति रूपन्देहीका सदस्य सचिव एवं शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाई प्रमुख माधव बन्जाडेले परीक्षार्थी विद्यार्थीहरू ७ः३० बजे कक्षा कोठामा बसिसक्नुपर्ने र ८ः१५ पछि आउने विद्यार्थीहरूको लागि परीक्षामा सहभागी नगराइने भएको हुनाले केन्द्राध्यक्षहरूले गोपनियताका साथ होसियारीपूर्वक सञ्चालन गर्नको लागि निर्देशन दिए ।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले परीक्षा पूर्व, परीक्षाको अवधिमा र परीक्षापश्चात गर्ने कार्यहरू प्रस्तुतगरेका थिए ।
जिल्ला परीक्षा समन्वय समिति रूपन्देहीका अध्यक्ष एवं रूपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको अध्यक्षतामा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश बुटवलका अधिकृत बाबुराम भण्डारीको सञ्चालनमा बुटवलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको नवीन औद्योगिक कदरबहादुर रीता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए ।