२०८२ बैशाख २६

राजश्व छलीमा भाञ्जा स्टोर्सका विरुद्ध मुद्दा दर्ता
  • लुम्बिनी खोज
  • २०८२ बैशाख २५, बिहीबार १५:२६ गते

तीन करोड ११ लाख असुल उपर गर्न तथा कैद सजायको पनि माग दावी
बुटवल २५ बैशाख ।
राजश्व छलीको आरोपमा बुटवलको एउटा फर्म विरुद्ध ३ करोड रुपैया भन्दा बढी असुल उपरको मागदावी सहित मुद्दा दर्ता भएको छ । राजश्व अनुसन्धान कार्यालय बुटवलका अनुसार बुटवल ७ राधाकृष्ण पथ स्थीत भाञ्जा स्टोर्स एण्ड हाउसका प्रोप्राइटर बरकत अलि मिया विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बिहिवार मुद्दा दर्ता भएको हो ।
राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार सो फर्मका नाममा मालवस्तु पैठारी तथा खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नु, बिजक नै जारी नगरी मालवस्तु बिक्रि गर्नु, बिक्रि भएको मालबस्तुको अभिलेख बिक्रि खातामा प्रविष्टि नगरेको पाइएको छ । त्यस्तै पेश गरेको मुल्य अभिवृद्धि कर विवरण भन्दा अधिक मौज्दात पसल तथा गोदामबाट फेला पर्नु, मौज्दात किताब भन्दा बढी फेला परेको मालवस्तु चोरी पैठारी गरी ल्याएर बिक्रि गरेको तथा कारोवार छल्न न्यून बिक्रि देखाइ भन्सार महसुल, मुल्य अभिवृद्धि कर तथा आयकर नबुझाइ राजश्व चुहावट गरेको भन्दै मिया विरुद्ध मुद्दा दायर गरिएको छ । भन्सार चोरी पैठारी तर्फ ७५ लाख ९३ हजार ५५७, मुल्य अभिबृद्धि करतफ्र्र २३ लाख २७ हजार ४५९ र आयकर तर्फ ५६ लाख ४५ हजार २६५ गरी १ करोड ५५ लाख ६६ हजार २८१ बिगो कायम गरिएको छ । सो बिगो र बिगोको शत प्रतिशत जरिवाना रकमसहित ३ करोड ११ लाख ३२ हजार ५६२ रुपैया असुल उपर गर्न तथा राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२(संशोधन सहित) को ऐन बमोजिम जरिवाना र कैदको मागदाबीसहित मुदा दायर गरिएको छ ।