२०८२ जेष्ठ २

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन सुरु
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ १, बुधबार १२:४५ गते


पहिलो बैठकमै जनमुखी नीति कार्यक्रम र बजेट ल्याउन सुझाव
बुटवल ३१ बैशाख ।
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन बुधबारबाट सुरु भएको छ। बजेट अधिबेशनका रुपमा रहेको प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठकमा दलका तर्फबाट शुभकामना व्यक्त गर्ने क्रममा नीति कार्यक्रम र बजेटका बारेमा चर्चा भएको छ।
बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्रहरुबारे सभामुख तुलाराम घर्ती मगरले सदनलाई जानकारी दिएका थिए । त्यस्तै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट अधिवेशन सफलताको शुभकामनासहित नीति कार्यक्रम, बजेट तथा समसामयिक विषयमा सांसदहरुले धारणा राखे।
दिउँसो १ बजे सुरु भएको बैठकमा सत्ता तथा प्रतिपक्ष दलका सांसदहरुले नीति कार्यक्रम र बजेट जनमुखी बन्नुपर्नेमा जोड दिएका छन्। नीति कार्यक्रम र बजेट ल्याउँदा सरकारले आवश्यक तयारी गरेर प्रदेशको विकासलाई ध्यान दिएर ल्याउन उनीहरुको सुझाव छ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले नीति तथा कार्यक्रम र बजेटका लागि सरकारले आवश्यक तयारी नगरेको भन्दै तयारीका साथ प्रदेशको विकासमा योगदान पुग्ने गरी बजेट ल्याउन आग्रह गरे। बजेट र नीति कार्यक्रमबीच तालमेल हुनुपर्ने उनको धारणा छ। उनले प्रदेशको आर्थिक सर्वेक्षणमा आधारित नीति तथा कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए।

जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले युवा, दलित, बेरोजगार, किसानलगायतको समस्या समाधान गर्न मद्दत मिल्ने बजेट ल्याउन सुझाव दिए। उनले सदनमा उठेका आवाजहरूको जवाफ समयमै आउनुपर्ने धारणा राखेका थिए।

राप्रपाकी सांसद मीनाकुमारी श्रेष्ठले लुम्बिनी प्रदेशको समग्र विकासमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन्। सत्तापक्ष नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सरकारले साझा नीति तथा कार्यक्रम ल्याउने गरी दलहरूसँग सुझाव संकलन गरेर आधार निर्माण गरेको दावी गरे।वर्तमान सरकारले समयमा अधिवेशन आह्वान गरेको भन्दै उनले नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा छलफल गर्न पर्याप्त समय भएको जिकिर समेत गरे।

कांग्रेस प्रमुख सचेतक जमुना ढकालले हचुवाको भरमा बजेट ल्याउन नहुनेमा जोड दिँदै जनमुखी कार्यक्रमसहित यथार्थपरक बजेट ल्याउन सुझाव दिइन्।जसपाका भण्डारी लाल अहिरले सरकारले ल्याउने नीति तथा कार्यक्रममा प्राथमिकता स्पष्ट हुनुपर्ने बताए। निर्वाचन क्षेत्रमा विनियोजन भएको बजेट खर्च नहुँदा फ्रिज हुने अवस्था आएको उल्लेख गर्दै उनले नीति तथा कार्यक्रममा सबैलाई अपनत्व हुने गरी तयार गर्न सुझाव दिए। बजेट पूर्ण रूपमा खर्च हुने अवस्था बनाउन उनको जोड छ। साथै, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए। सभामुख तुलाराम घर्तिमगरले अर्को बैठक जेठ १ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी तोकेका छन्।