२०८२ जेष्ठ १९
बुटवल १७ जेठ ।
बुटवल उपमहानगरपालिका मातहतमा रहेका बुटवलका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको शैक्षिक अवलोकन भ्रमण गरेका छन् ।
उनीहरुले देशका विभिन्न जिल्लामा रहेका असल अभ्यास अवलम्बन गरेका विद्यालयहरूको शैक्षिक अवलोकन गरेका छन् । त्यस क्रममा उनीहरुले विभिन्न जिल्लाको ऐतिहासिक ,धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूको पनि अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा सिन्धुली जिल्लाको संघीय नमुना विद्यालय जनज्योति मावि फोर्सेटारको अवलोकन भ्रमण गरे । भ्रमणमा सहभागी नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार त्यस विद्यालयमा बाल विकासदेखि कक्षा ३ सम्म पूर्ण अङ्ग्रेजी माध्यममा र कक्षा ४–१२ दुवै माध्यममा पठनपाठन हुने तथा वार्षिक चारवटा परीक्षा सञ्चालन गर्ने गरेको र प्रत्येक शनिबारीय परीक्षाको पनि व्यवस्था गरेको पाइयो।
विद्यालयले असल अभ्यास अन्तर्गत कपाल काट्ने तालिम स्वैक्षिक सेलुन कार्यक्रम विद्यालय समय अगाडि र पछाडि सेलुन सञ्चालन गर्ने जसमा सय रुपैयाँ लिने र त्यसमध्येको ५० रुपैयाँ विद्यालयको लागि र ५० सम्बन्धित विद्यार्थीको लागि व्यवस्था गर्ने प्रावधान राखेको छ।
अनलाइन स्टुडियो सञ्चालन ,उद्घोषण प्रशिक्षण ,वायरिङ तथा प्लम्बिङ तालिम कुखुरापालन ,तरकारी तथा फलफुल खेती जग्गा भाडामा लिएर सञ्चालन गरेको छ। विद्यालयलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन विशिष्ट सदस्य विस्तार कार्यक्रम विद्यालयमा सञ्चालन गरेको छ । जसबाट न्यूनतम १० हजारका दरले चन्दा संकलन गर्ने चन्दादाताको फोटोफ्रेम विद्यालयमा राख्ने अभियान सुरु गरेको छ। र हालसम्म २२० भन्दा बढी सदस्यहरु विस्तार गरेको छ। जसबाट १५० भन्दा बढी बुबाआमा नभएका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिने व्यवस्था विद्यालयले गरेको छ । विद्यालयलाई हरियाली मैत्री बनाउन १ हजार गमला कार्यक्रम सुरु गरेको छ। जुन गमला व्यवस्थापनको लागि २ सय खर्च लाग्ने र गमला प्रदान गर्नेको गमलामा नाम लेख्ने गमला व्यवस्थापन समिति समेत गठन गरेको छ।
विद्यार्थीको सुनिश्चित भविष्यको लागि इच्छुक विद्यार्थीहरूबाट रु १ सय लीई छुट्टै खाता सञ्चालन गरी विद्यार्थी पढाइ समाप्ति पश्चात् स्थानान्तरण प्रमाणपत्र लिएर जाँदा संकलन भएको रकम खाताबाट भुक्तानी गर्ने गरी व्यवस्था गरेको छ।
२०८१ को एसईई परीक्षामा १०६ जना विद्यार्थी सहभागी भएकोमा सबै विद्यार्थी उत्तीर्ण भएका थिए। विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान ,व्यवस्थापन ,कानुन र शिक्षा समूह अध्यापन हुने गरेको छ। हाल विद्यालयमा १ हजार ९ सय २६ विद्यार्थीहरु अध्ययनरत छन्। विद्यालयले चालिसौँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्राविधिक शिक्षातर्फ तीन वर्षे कृषिमा नेपालमा उत्कृष्ट भई रु. १ लाख नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको थियो। जीवन विकास समाज नेपालले देशभरका सामुदायिक विद्यालयहरूको सर्वेक्षणमा उत्कृष्ट भई महामहिम राष्ट्रपतिबाट १ लाख पुरस्कार प्राप्त गरेको थियो। २०८१ चैत्रमा शैक्षिक लेखाजोखा र प्राविधिक शिक्षामा उत्कृष्ट भएर ३ लाख पुरस्कार विद्यालयले प्राप्त गरेको थियो।
असल अभ्यास आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा शैक्षिक अवलोकन भ्रमण व्यवस्थापन समितिका संयोजक ज्ञानोदय मावि बुटवलका प्रधानाध्यापक टिकराम शर्मा पौडेलले बुटवलमा नेपालमै अगुवाई गर्ने र धेरै विद्यार्थी भएका ठूला विद्यालयहरू भएको बुटवल उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूको दिवा खाजामा रु १० थप गरेको विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक थप व्यवस्था गरेको विद्यालय तहबाट खेलाडी उत्पादन र विकास गर्न योजनाबद्ध लगानी गरेको लगायत शैक्षिक गतिविधिको जानकारी गराएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक कुमार ढकालको अध्यक्षतामा विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मीराज श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। विद्यालयको प्रधानाध्यापक योगेन्द्रप्रसाद अधिकारी रहेका छन् ।
शैक्षिक अवलोकन भ्रमणको क्रममा प्रधानाध्यापकहरूले २०७९ सालमा कक्षा १२ को बोर्ड परीक्षामा नेपाल प्रथम हुन सफल सिन्धुली जिल्ला स्थित दुधौली नगरपालिका वार्ड नं ११ मईनीमा रहेको कमला मावि मईनीको पनि अवलोकन गरेको छन् ।
यस विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा समूह अध्यापन हुने गरेको छ र कक्षा १२ को बोर्ड परीक्षामा ४९ जना विद्यार्थी सहभागी भएकोमा ४८ जना विद्यार्थीहरू उत्तीर्ण हुन सफल भएका थिए। जसका कारण उक्त विद्यालय सामुदायिकतर्फ नेपाल प्रथम हुन सफल भएको थियो। करिब डेढ बिघा विद्यालयको नाममा जग्गा भएको उक्त विद्यालयमा हाल ५ सय ५० विद्यार्थीहरू अध्ययनरत छन्। उक्त विद्यालयमा भौतिक पूर्वाधारको समस्या भएको नेपाली माध्यममा मात्र अध्यापन हुने हुँदा छिमेकमा बोर्डिङको बाहुल्यता भएको हुनाले अङ्ग्रेजी माध्यम सञ्चालन गर्ने योजना बनाउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमनारायण सुनुवार बताएका थिए । विद्यालयमा सूर्यनारायण दास प्रधानाध्यापक रहेका छन् ।
२०७९ मा नै सिन्धुली जिल्लाबाट कक्षा १२ को बोर्ड परीक्षामा नेपाल द्वितीय हुन सफल कमलामाई नगरपालिका वडा नम्बर ११ मा रहेको कमला मावि जसमा हाल ६ सय विद्यार्थीहरु अध्ययनरत छन्। विज्ञान समूहबाट कक्षा १२ को बोर्ड परीक्षामा सहभागी भएका ७२ जना विद्यार्थीहरू मध्ये ७१ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए। जसका कारण विद्यालय सामुदायिक विद्यालय तर्फ नेपाल द्वितीय हुन सफल भएको थियो। उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा उपेन्द्रकुमार पोखरेल र प्रधानाध्यापक कमलेश चौधरी रहेका छन् ।
उक्त विद्यालयमा हाल विज्ञान समुहमा २३१ विद्यार्थीहरू अध्ययनरत छन्। विद्यालयको जग्गा एक बिघा ६ कट्ठा रहेको छ। विद्यालयमा विद्यार्थी संख्या पनि न्यून भएको, असल शैक्षिक अभ्यास पनि त्यति उल्लेखनीय नभएको र पठनपाठनको माध्यम पनि नेपाली भएकोमा २०७९ को कक्षा १२ को बोर्ड परीक्षामा नेपाल प्रथम र नेपाल द्वितीय हुन सफल भएको सम्बन्धमा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका इकाइ प्रमुख मोहनबहादुर सुनुवारले नतिजा आउनु विभिन्न कारणहरू हुनसक्ने बताए ।
शैक्षिक अवलोकन भ्रमणको अवसरमा कोशी प्रदेश सुनसरी जिल्लाको सङ्घीय नमुना विद्यालय पब्लिक हाइ स्कुल धरानको बिहीबार अवलोकन गरेको छ। २००३ सालमा स्थापना भएको सङ्घीय नमुना विद्यालय हो। यस विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म ३ हजार ४ सय ४९ विद्यार्थीहरू अध्ययनरत छन् विद्यालयमा पूर्ण अंग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ। विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान ,व्यवस्थापन, व्यवस्थापनमा होटल व्यवस्थापन शिक्षा र मानविकी समूहमा ब्युटिसियन विषय पठनपाठन हुने गरेको छ। प्राविधिक धारतर्फ कक्षा ९–१२ मा इलेक्ट्रिकल इन्जिनियरिङ विषय पठनपाठन हुने गरेको छ। २०८१ मा २५२ विद्यार्थीहरूले एईईपरीक्षा दिएका थिए। भने एसएलसी परीक्षा ७५२ जना विद्यार्थीहरू सहभागी भएका थिए। विद्यालयमा प्राविधिक धार तथा कक्षा ११ र १२ मा शिक्षक प्रशिक्षक तथा कर्मचारी गरी ४० जना रहेको र विद्यालय स्रोतमा १२६ गरी १६६ जना जनशक्ति रहेको छ। विद्यालय धरान उपमहानगरपालिकामा पठनपाठन तथा भलिबल तथा फुटबलतर्फ उत्कृष्ट रहेको छ। विद्यालयले विद्यार्थीहरूको नेतृत्व र व्यक्तित्व विकाससहित प्रोत्साहन गर्नको लागि प्रार्थनाको समयमा दुई, तीन मिनेट बोल्न दिने र प्रोत्साहन गर्ने विद्यालयका विभिन्न त्रैमासिक परीक्षामा कक्षा १० सम्मलाई उत्कृष्ट छात्र छात्रा विद्यार्थीलाई रु ५०० प्रोत्साहन स्वरूप प्रदान गर्ने गरेको छ । यहा कक्षा ११ र १२ का विद्यार्थीलाई सेक्सन अनुसार नगद ,१ हजार प्रोत्साहन दिने व्यवस्था गरेको छ। विद्यालय हातामा एक बिघा १९ कठ्ठा तीन धुरजग्गा रहेको छ भने साढे छ कठ्ठा जग्गा छुट्टै स्थानमा रहेको छ। विद्यालय नेपालका प्रत्येक प्रदेशबाट छ वटा उत्कृष्ट विद्यालयका दरले सातवटा प्रदेशबाट छनोट भएका ४२ वटा उत्कृष्ट विद्यालयहरू मध्ये १६ वटा सूचकका आधारमा असल शैक्षिक अभ्यास (GEP)मा नेपाल तृतीय हुन सफल भएको छ। विद्यालयको प्रधानाध्यापक डा. इन्द्रमोहन झा र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हरिबहादुर कार्की रहेका छन् । कार्की विद्यालय व्यवस्थापन समिति महासङ्घ कोशी प्रदेशको कार्यवाहक अध्यक्ष पनि रहेका छन् । कार्यक्रममा शैक्षिक अवलोकन व्यवस्थापन समितिका संयोजक ज्ञानोदय माविका प्रधानाध्यापक टिकराम शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका लेखापाल कमलप्रसाद खतिवडाले विद्यालयका असल अभ्यासहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाबाट प्रधानाध्यापकहरूको भ्रमण कार्यदलको नेतृत्व गरेका बुटवल उपमहानगर शिक्षा समितिका सदस्य ,नहरपुर माविका प्रधानाध्यापक, नेपाल राष्ट्रिय शिक्षक संगठन रूपन्देहीका अध्यक्ष धनिश्वर गौतमले भौतिक पूर्वाधार विकास ,शैक्षिक सुधार विद्यार्थीहरूको दिवा खाजामा थप बजेटको व्यवस्था विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको लागि थप पारिश्रमिकको व्यवस्था विद्यालय तहबाटै खेलाडी उत्पादन विकास गर्न योजनाबद्ध पर्याप्त लगानी सबै विद्यालयहरूसँग सुमधुर सम्बन्ध स्थापित गर्नमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल र प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालको महत्वपूर्ण सहयोग र प्रभावकारी समन्वय भएकोमा उच्च प्रशंसा गरेका थिए ।
नेपालमा संयुक्त लगानीमा सञ्चालन भएका जोइन्ट भेन्चर बैंकहरूले बैंकका शाखा प्रबन्धकहरूलाई कामका क्रममा उच्च चापले तनाव बढी हुने हुँदा एक हप्ताको लागि बजेट व्यवस्था गरी फोर्स लिभको व्यवस्था गर्ने प्रचलन भएझैँ बुटवल उपमहानगरपालिकाले पनि विद्यालयका प्रधानाध्यापकहरुलाई २०७५ देखि भ्रमणको व्यवस्थापन गर्दै आएको छ। पहिलो चरणमा गण्डकी प्रदेशका सत्यवती मावि तनहुँ, शीतल मावि कास्की, विद्यामन्दिर मावि बाग्लुङ र बेनी सामुदायिक मावि म्याग्दीको अवलोकन भ्रमण गरेको थियो। २०७६ मा पूर्वी इलाम र दार्जिलिङको भ्रमण गरेको थियो। २०७७ र ७८ मा कोभिड–१९ का कारण अवलोकन भ्रमण हुन सकेको थिएन। २०७९ मा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली ,डडेलधुरा लगायतका जिल्लाको अवलोकन भ्रमण गरेको थियो। २०८० मा गुल्मी, पूर्वी रुकुम ,पश्चिम रुकुम ,दैलेख र जाजरकोट लगायतका जिल्लाका विद्यालयहरूको असल अभ्यास जानकारी लिएको थियो। २०८१ अन्तर्गत लुम्बिनी, बागमती, कोशी र गण्डकी प्रदेशका १६ वटा जिल्लाहरूको अवलोकन भ्रमण जेष्ठ ११ गतेदेखि १६ गते दिउँसोसम्म सम्पन्न गरेको हो। बुटवल उपमहानगरपालिकाले बुटवल उपमहानगरपालिका मातहतमा रहेका निजी तथा आवसिय विद्यालयका प्रधानाध्यापकहरूलाई पनि गत वर्षदेखि अध्ययन अवलोकन भ्रमणको लागि बजेटको व्यवस्था गरेको छ जुन अन्य पालिकाहरूको लागि पनि असल अभ्यासको थालनी हो।
अवलोकन भ्रमणलाई प्रभावकारी र व्यवस्थित गर्न ज्ञानोदय मावि बुटवलका प्रधानाध्यापक टिकराम शर्मा पौडेलको संयोजकत्वमा भ्रमण व्यवस्थापन समिति गठन गरिएको थियो। उक्त समितिको सदस्यहरूमा मोतिपुर माविका प्रधानाध्यापक लक्ष्मण मरासिनी, तिलोतमा माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद रेग्मी, बुटवल उपमहानगर शिक्षा समितिका सदस्य तथा सिद्धेश्वर लालकुमारी माविका प्रधानाध्यापक दिनानाथ गिरी ,नेपाल शिक्षक महासङ्घ बुटवलका अध्यक्ष एवं जितेश्वरी माविका प्रधानाध्यापकउपेन्द्र ज्ञवाली र साधना महिला माविकि प्रधानाध्यापक विष्णु गौतम घिमिरे रहेका छन् । भ्रमणको क्रममा प्रत्येक दिन बेलुकी रिपोर्टिङ ,असल अभ्यास र भ्रमणको समीक्षा गर्ने गरिएको थियो।
अवलोकन भ्रमणमा बुटवल माविका प्रधानाध्यापक होमबहादुर रायमाझी, कान्तिमावि बुटवलका प्रधानाध्यापक गोविन्द ज्ञवाली, ज्ञानोदय रात्री माविका प्रधानाध्यापक गुरुप्रसाद पौडेल, लक्ष्मी माविकी प्रधानाध्यापक शान्ति शर्मा, जनता माविकी प्रधानाध्यापक आशा बस्नेत थापा ,सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भुसाल, सहिद स्मृति आधारभूत विद्यालयका प्रधानाध्यापक प्रकाश गौतम, अमर माविका प्रधानाध्यापक देवराज पौडेल ,भवानी माविका प्रधानाध्यापक भरत अधिकारी , सूर्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक शोभा ज्ञवाली, बालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक सीता पाण्डे, मैनाबगर आधारभूत विद्यालयका प्रधानाध्यापक रेशम थारु, दुर्गा भवानी आधारभूत विद्यालयकी प्रधानाध्यापक कल्पना सुवेदी, सुस्त मनस्थिति आधारभूत विद्यालयकी प्रधानाध्यापक मिना भुसाल पाठक, नेपाल शिक्षक संघ बुटवलका अध्यक्ष शिवप्रसाद अर्याल, विद्यालय कर्मचारी अमृत गिरी, बुद्धलक्ष्मी सामुदायिक अध्ययन केन्द्रकी दिपा क्षेत्री ,चालक दलका कुशल चालक सागर थापा ,आशिष कुँवर र सुनिल कोइराला रहेको नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए।