२०८२ असार ३०

संवैधानिक नियुक्तिसम्बन्धी विवादको फैसला असार १८ मा सुनाइने
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ २८, बुधबार १२:३३ गते

बुटवल, २८ जेठ ।
सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आगामी असार १८ गते सुनाउने भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा आज फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति २० दिन सरेको हो । उक्त मुद्दामा गत जेठ १ गते सुनुवाइ सकिएपछि बुधबारका लागि निर्णय सुनाउने मिति तोकिएको थियो । सोही बमोजिम बुधबार प्रधानन्यायाधीश राउतसहितको संवैधानिक इजलास तोकिएसँगै अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर दिनभर सम्बन्धित न्यायाधीशहरूबिच छलफल चलेको थियो ।
न्यायाधीशहरूबिच राय बाझिएकाले आज फैसला नआएको हुनसक्ने कानुनविद्हरूको भनाइ छ । त्यतिबेला गरिएको नियुक्ति बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा १५ वटा रिट निवेदन परेका थिए । अनेक कारणले सुनुवाइ गर्दै आएकोमा गत माघदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गरेर बुधबार आज निर्णय सुनाउने मिति तोकेको थियो ।