२०८२ जेष्ठ ३०
बुटवल २९ जेठ ।
शहीद स्मृति प्रतिष्ठान नेपाल, रुपन्देहीले शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । २०७४ मा संस्था स्थापनापछि बुटवल उप–महानगरपालिकासँगको सहकार्यमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको प्रतिष्ठानले बिहीबार बुटवलमा शहीद र बेपत्ता ३९ परिवारलाई नगद र सम्मानपत्र सहित सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शहीद स्मृति प्रतिष्ठानले यस्तै रचनात्मक कार्यक्रम गर्दै अगाडी बढ्न सुझाव दिए । उनले प्रतिष्ठानलाई जग्गा प्राप्ती देखि भवन निर्माणमा आफ्नो सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि रचनात्मक कामका लागि स्थानिय सरकारको तर्फबाट साथ रहने बताए ।
मुलकमा लोकतन्त्र स्थापनाका लागि सहिद तथा वेपत्ताहरुको ठूलो योगदान रहेको पनि उनले बताए । साथै संस्थालाई सबैको साझा बनाउने गरी अघि बढ्न सुझाव दिए ।
प्रमुख पाण्डेयले सबै क्षेत्रको ठूलो प्रयत्नबाट देश अहिलेको अवस्थामा आएको बताउँदै शहीद र बेपत्ता परिवारलाई आगामी वर्ष घरमा पुगेर सम्मान गर्ने कार्यक्रम राख्न संस्थालाई आग्रह गरे ।
संविधानसभा सदस्य सोनिया यादवले देशमा अहिलेको परिवर्तन ल्याउनमा शहीद परिवारको योगदान नभुल्न आग्रह गरिन् । अझै पनि द्वन्द्व पीडितले न्याय पाउन नसकेको बताउँदै उनले राज्यले सम्मानजनक न्याय दिन ढिलाई नगर्न आग्रह गरिन ।
शहीद स्मृति प्रतिष्ठान नेपाल, रुपन्देहीका अध्यक्ष हरिप्रसाद घिमिरे प्रतिष्ठान शहीदले देखाएको बाटो र सपनालाई सम्मान गर्दै अघि बढेको बताए । अध्यक्ष घिमिरेले शहीद परिवारलाई देशको गौरव र सम्पति रूपमा लिएर अघि बढनुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसी, माओवादी केन्द्रका नेता यज्ञ पोखरेल, न्यायका लागि द्वन्द्व पीडित समाज, रुपन्देहीका सचिव रीता सेन लगायतले बोल्दै सरकारले टिआरसीलाई छिटो टुंगोमा पु¥याएर द्वन्द्व पीडितका समस्याहरु समाधान गर्न आग्रह गरे ।
शहीद स्मृति प्रतिष्ठान नेपाल, रुपन्देहीका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षता, उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोज रानाको स्वागत तथा सचिव दामोदर घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।