२०८२ असार १७

कपिलवस्तुमा बाणगंगा नगरभित्रका १६ विद्यार्थीको ४ जिपिए
  • लुम्बिनी खोज
  • २०८२ असार १६, सोमबार १२:५७ गते

कपिलवस्तु, १६ असार ।
कपिलवस्तु जिल्लाबाट एसईई मा १६ जना विद्यार्थीले उत्कृष्ट चार जिपिए ल्याउन सफल भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका निमित्त इकाइ प्रमुख अर्जुन कुँवरका अनुसार समग्र नतिजा अघिल्लो वर्षको तुलनामा सुधार आएको बताएका छन् । कपिलवस्तुमा ३.६ देखि ४ जिपिए ल्याउने ६ सय ९२ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने १ हजार एक सय ७९ जना, २.८ देखि ३.२ जिपिए ल्याउने १ हजार पाँच सय ६४ जना, २.४ देखि २.८ जिपिए ल्याउने एक हजार ४६ जना, र २.० देखि २.४ जिपिए ल्याउने १३४ जना विद्यार्थी रहेका छन् । जिल्लाबाट यस पटक ६२ दशमलव ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तुमा ४ जिपिए ल्याउने सबै १६ जना बाणगंगा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी रहेका छन् । नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालका अनुसार, यीमध्ये सबैभन्दा धेरै ९ जना विद्यार्थी जनता माध्यमिक विद्यालय, पिपराका रहेका छन् । हरेक वर्षझैँ यस वर्ष पनि जनता माविले उत्कृष्ट प्रदर्शन गर्दै नगरकै शान कायम राखेको अर्यालले बताए । सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा निकाल्दै आएको जनता माविले यसपालि पनि चार जिपिए ल्याउने सबैभन्दा धेरै विद्यार्थी उत्पादन गर्न सफल भएको छ ।
त्यस्तै, संस्थागत विद्यालयतर्फ ज्ञानपुञ्ज बोर्डिङ स्कूल, राजपुरका ४ जना विद्यार्थीले चार जिपिए ल्याएको बताइएको छ । यो परिणाम जिल्लाको निजी विद्यालयहरूमध्ये सर्वश्रेष्ठ रहेको प्रमुख अर्यालले बताएका छन् ।
यसैगरी, बाणगंगा माध्यमिक विद्यालय, लौगाईका ३ जना विद्यार्थीले पनि चार जिपिए ल्याउन सफल भएका छन् ।

नगरप्रमुख अर्यालले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालय र अभिभावकलाई बधाई तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा नगरलाई शैक्षिक क्षेत्रमा अझ उत्कृष्ट बनाउने दिशामा अझ कडा मेहनत गरिने प्रतिबद्धता जनाए ।
बाणगंगा नगरपालिका क्षेत्रका ३३ विद्यालयबाट कूल १ हजार ७ सय ५३ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट समावेश भएका विद्यार्थीमध्ये अधिकांशको नतिजा सन्तोषजनक रहेको बताए । यसले बाणगंगाको शैक्षिक गुणस्तरमा सकारात्मक संकेत देखाएको उनको भनाइ छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालय तथा अभिभावकलाई बधाई दिँदै नगरलाई शैक्षिक केन्द्रको रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको समेत बताएका छन् ।