२०८२ असार २३
बुटवल २३ असार ।
रुपन्देही जिल्ला अदालतको आयोजनामा नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा न्यायिक वाह्य संवाद कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
कार्यक्रममा रुपन्देही जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश अशोक कुमार बस्नेतले न्यायिक संवाद अन्तर्गत राज्यको स्थापना, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, कानुनको अर्थ, स्रोत, आवश्यकता, उत्पत्ति, प्रकार, न्याय र कानुनका मान्य सिद्धान्तहरू, सर्वोच्च अदालत, उच्च अदालत, इजलासहरु, मुकामहरु, विशेष अदालत, न्यायाधीकरण, जिल्ला अदालतलगायतका विषयहरूमा सहजीकरण गरेका थिए । त्यस्तै उनले अर्धन्यायिक निकायहरू, जिल्ला प्रशासन कार्यालय, वन, मालपोत, भूमिसुधार, नापी, निकुञ्जहरू, स्थानीय अदालतहरू, नवीन अवधारणाहरू, जिल्ला अदालत र क्षेत्राधिकार, अदालती प्रक्रियाहरू, फैसला कार्यान्वयन, मेलमिलाप , वैतनिक कानुन व्यवसायी, निरन्तर सुनुवाइ, बन्द इजलास, बाल इजलास, जिल्ला अदालतका सेवाहरू लगायतका विषयहरूमा पनि सहजीकरण गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का कार्यवाहक वडा अध्यक्ष नहकुल शाही ठकुरी, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, सहायक प्रधानाध्यापक अर्जुन खनाल, कानुन समूहका इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेलले धारणा राखेका थिए ।
कानुन समूह कक्षा १२ की विद्यार्थी मनिसा खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा २०८१ सालमा कक्षा ११ को वार्षिक परीक्षामा उच्च जीपीए प्राप्त गर्ने विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समूहका विद्यार्थीहरूलाई जीपीएको आधारमा उच्च जिपिए ल्याउने ३२ जना विद्यार्थीहरूलाई नगद ७४ हजार रुपन्देही जिल्लाका प्रमुख जिल्ला न्यायाधीश अशोक कुमार बस्नेत, न्यायाधीश धनिश्वर पौडेल र कार्यवाहक वडा अध्यक्ष नहकुल शाही ठकुरीले वितरण गरेका थिए । कार्यक्रममा रुपन्देही जिल्ला अदालतका न्यायधीश धनीश्वर पौडेल, श्रेष्तेदार उपसचिव यज्ञमूर्ती ज्ञवाली, तहसिलदार कृष्ण प्रसाद पौडेल, प्रशासन शाखा प्रमुख पदम अर्याल, विद्यालयका समूहगत इन्चार्जहरु विषयगत प्रमुखहरू र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।