२०८२ श्रावण १
जिल्लामा मुद्दाको चाप रुपन्देहीमा धेरै, ३ हजार ३ सय मुद्दा फैसला हुन बाकी
कपिलवस्तमा ५९, नवलपरासीमा १८ र रुपन्देहीमा १२ वटा २ वर्ष पुराना मुद्दा
बुटवल ३२ असार ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले आर्थिक वर्ष ०८१र८२ मा ३२ सय नौ मुद्दाको फैसला गरेको छ। चालू आर्थिक वर्षको ३० असारसम्मको तथ्यांकअनुसार यो लक्ष्यको १३६ दशमलव ७३ प्रतिशत र जम्मा लगतको ८२।०१ प्रतिशत हो।
यस अदालतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका ८३२ र यस वर्ष दर्ता भएका तीन हजार ८१ सहित तीन हजार नौ सय १३ मुद्दामध्ये ३० असारसम्म तीन हजार दुई सय नौ थान मुद्दा फैसला भएको छ। अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका सबै मुद्दाको फैसला भएको छ।
अदालतलाई फरक मुद्दा व्यवस्थापन पद्धति कार्यान्वयनका लागि नमुना अदालतको रूपमा तोकिएको थियो। योजनाबमोजिम अदालतले जिम्मेवारी सरेका सबै मुद्दा र यस वर्ष नयाँ दर्ताको आधा मुद्दासम्म फर्स्योट गर्नुपर्ने लक्ष्य रहेकोमा फरक मुद्दा व्यवस्थापन पद्धतिलाई नतिजामुखी एवं परिणाममुखी बनाउन छुट्टै मिसिल निरीक्षण अधिकृत तोकी निरीक्षण एवं निर्देशन दिने कार्य गरिएको अदालतले जनाएको छ। अदालतका निमित्त रजिस्ट्रार हरिगोपाल ज्ञवालीले अदालतमा छुट्टै अभियान फाँटसमेत गठन गरी कार्यान्वयन गरिएकाले लक्ष्यअनुसार सबै जिम्मेवारी सरेका ८३२ र नयाँ दर्तातर्फ ८३७ थान लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट गर्न सफल भएको बताए।
यस अदालतमा अब बाँकी रहेका मुद्दामध्ये एक वर्ष नाघेका मुद्दा एउटा पनि छैनन्। ६ महिनादेखि एक वर्षभित्रका १०७ थान मुद्दा छन्। त्यस्तै, ६ महिनाभित्रका ५९७ मुद्दा रहेका छन्।
अदालतको वार्षिक प्रगतिका बारेमा जानाकारी दिन मंगलबार आयोजित कार्यक्रममा उच्च अदालत बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्यले अदालतबाट हुने गरेका मुद्दा फैसला तथा अदालतका कार्यसम्पादनका बारेमा जानाकारी गराएका थिए। कुनै कुनै फैसला आउन राति अबेर हुने गरेको बारेमा सञ्चारकर्मीले राखेका जिज्ञासामा अर्को दिनलाई थाती नराखी उसै दिन छिटो गर्न राति ढिलासम्म हुने गरेको बताए ।
यस्तो छ ९ वर्ष यताको तंथ्याक
बुटवल इजलासले आर्थिक वर्ष ०७३।०७४ यता को तंथ्याकमा यस आर्थिक वर्षमा धेरै मुद्दाको फैसला गर्न सफल भएको छ । ०७३।०७४ मा ३००८ मुद्दामा २०९६ अर्थात ६९ दशमलव ६८ प्रतिशत, , ०७४।०७५ मा २२०१ मुद्दामा १६७७ अर्थात ७६ दशमलव १९ प्रतिशत, ०७५।०७६ मा २९६८ मा १९९६ अर्थात ६७ दशमलव २५ प्रतिशत मुद्दा फैसला भएका थिए । त्यस्तै ०७६।०७७ मा २५०० मुद्दामा १६८५ अर्थात ६७ दशमलव ४ प्रतिशत, ०७७।०७८ मा २५७८ मुद्दामा १२८५ अर्थात ४९ दशमलव ८४ प्रतिशत, ०७८।०७९ मा ३५२४ मा १८७१ अर्थात ५३ दशमलव शुन्य ९ प्रतिशत मुद्दाको फैसला भएको थियो ।
त्यस्तै ०७९।०८० मा ३८८९ मुद्दामा २३४८ अर्थात ६० दशमलव ३७ प्रतिशत, ०८०।०८१ मा ३९०७ मुद्दामा ३०७५ अर्थात ७८ दशमलव ७० प्रतिशत मुद्दाको फैसला भएको थियो ।
रुपन्देहीमा मुद्दाको चाप, फैसला ३३०० मुद्दा फैसला हुन अझै बाकी
बुटवल इजलास मातहतका यहा ६ जिल्लाका अदालतहरु मध्ये मुद्दाको चाप रुपन्देहीमा धेरै रहेको उच्च अदालत बुटवल इजलासका सुचना अधिकारी रामवहादुर कुँवरले बताए । रुपन्देहीमा यस आर्थिक वर्षमा मुद्दाको लगत ९०३९ रहेकोमा ५७३९ थान मुद्दा फैसला भएका छन् । जुन ६३ दशमलव ४९ प्रतिशत हुन आउछ । यहा ३३०० मुद्दा फैसला गर्न बाकी रहेका छन् । यी मध्ये २ वर्ष पुराना मुद्दाको तंथ्याक १२ रहेको छ । यहा एक वर्ष देखि १८ महिना भित्रका ५१४, छ महिना देखि एक वर्ष भित्रका ४७८ वटा मुद्दा रहेका छन् ।
त्यस्तै कपिलवस्तु जिल्ला अदालतमा ४४१६ मुद्दामा २८७० अर्थात ६४ दशमलव ९९ प्रतिशत फैसला भएका छन् । नवलपरासी पश्चिममा ३५५५ मुद्दामा २४३१ अर्थात ६८ दशमलव ३८ प्रतिशत फैसला भएका छन् । पाल्पामा १०८१ मा ८०१ अर्थात ७४ दशमलव शुन्य ९ प्रतिशत, गुल्मीमा ७६२ मा ५५० अर्थात ७२ दशमलव १७ प्रतिशत र अर्घाखाचीमा ५९८ मा ५२५ अर्थात ८७ दशमलव ७९ प्रतिशत मुद्दा यस आर्थिक वर्षको असार ३० गतेसम्ममा फैसला भएका छन् ।