२०८२ भाद्र १८
बुटवल ३ भदौ ।
हजारौंको मुख परिक्षण गर्ने गरी बुटवलमा महाअभियानको तयारी गरिएको छ । विभिन्न संघसस्थाहरुले संयुक्त रुपमा शुरु गर्न लागेको अभियान बुधवारबाट शुरु हुदैछ ।
लायन्स क्लव अफ रुपन्देही, रोटरी क्लव अफ लुम्बिनी स्टार्स, दारी ग्याङ र आधुनिक समाज विकास फाउन्डेशनको संयुक्त आयोजना र बुटवल स्थीत आधुनिक समाज डेन्टल केयरको प्राविधिक सहयोगमा महाअभियान भदौ ४ गते बुधवारदेखी सञ्चालन गर्न लागिएको छ ।
“ स्वस्थ मुख महाअभियानः स्वस्थ शरीरको लागि स्वस्थ मुख” भन्ने मुल नारा तय गरी महाअभियान गर्न लागिएको हो । “पैसाको अभावमा कसैले दुखाइ सहन नपरोस, पैसाकै अभावमा कोही मुस्कुराउन नबिर्सियोस् “ भन्ने मर्मका साथ महाअभियान संचालन गर्न लागेको मुख स्वास्थ्य अभियान्ता एवं आधुनिक समाज डेन्टल, बुटवलका अध्यक्ष अमृत भुसालले बताए ।
मुख स्वस्थ्यको महत्वसहित दात तथा मुख सफा गर्न सचेतना पुर्याउन महाअभियान शुरु गर्न लागिएको उनको भनाइ छ । भदौ ४ गते बिहान साढे ७ बजे बुटवल ६ पुष्पलाल पार्क स्थित संस्थाको भवन अगाडीबाट प्रभातफेरीसहित महाअभियानको उद्धघाटन हुने उनले जानकारी दिए ।
प्रभातफेरी पश्चात पहिलो दिन दिनभर पुष्पलाल पार्कमै १० जना चिकित्सक सहित निशुल्क मुख परिक्षण र मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिइने आयोजकले बताएका छन् । भदौ ५ गते देखि असोज ५ गते सम्म दैनिक ३ जना दन्त चिकित्सक र अन्य प्राविधिक टिम सहित बिहान १० गते देखि साँझ ६ बजेसम्म आधुनिक समाज डेन्टलमा हरेक दिन निःशुल्क मुख परिक्षण र मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण कार्यक्रम चलाइने भुषालले जानकारी दिए ।
राजनीतिक दल, स्थानिय तहका प्रमुख तथा उप–प्रमुख, स्वास्थ्यकर्मी, लेखक, शिक्षक, बुद्धिजीवी, व्यावसायिक संघ–संस्था, जनप्रतिनिधि, युवा क्लबसहित विभिन्न संघसस्थाका ब्यक्तिहरुको सहभागिता रहने आयोजकले जनाएका छन् । अभियानमा पहिलो चरणको १ महिनाको अवधिमा हजारौं जनालाई प्रत्यक्ष निशुल्क मुख परिक्षण सङ्गै स्वस्थ मुख सम्बन्धी प्रशिक्षण दिइने लक्ष्य आयोजकले बनाएका छन् ।
कार्यक्रम तयारीका बारेमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपालका डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराईले क्लवहरुले सामाजिक क्रियाककलापहरु गर्दै आएको उल्लेख गर्दै मुख स्वस्थ्यलाई महत्व दिएर महाअभियान सञ्चालन गर्न लागिएको बताए ।
कार्यक्रममा दन्तरोग विशेषज्ञ डाक्टर सुनिल खरेल , रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर बिनोद कोइराला, लायन्स क्लव अफ रुपन्देहीका अध्यक्ष घनश्याम घिमिरे, रोटरी क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष बिमल ढकाल, चार्टर्ड प्रेसिडेन्ट यादब भण्डारी, दारी ग्याङ रुपन्देहीका अध्यक्ष रमेश खनाललगायतले सहभागिता रहेको थियो ।