२०८२ कार्तिक १५
काठमाडौं ६ असोज ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरी कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई उनले मन्त्री नियुक्त गरेकी थिइन् ।
आज सोमबार चार मन्त्री थपिएका छन् । थप चार मन्त्रीले आज शपथग्रहण गरेका छन् । प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षासहित ९ मन्त्रालयको जिम्मेवारी छ । पहिलो चरणमा नियुक्त दुई जना मन्त्रीहरु रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारी थप र कटौती भएको छ ।
अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ । गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरिएको छ । अब अर्यालले गृह मन्त्रालयको मात्र जिम्मेवारी सम्हाल्नेछन् । कानुन मन्त्रालयको जिम्मेवारी सोमबार नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ ।
दोस्रो पटक आज असोज ६ गते प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चार मन्त्रीलाई शपथ गराएका हुन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
यस्तै मदन परियारले कृषि तथा पशुपंक्षी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि तथा महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।