२०८२ कार्तिक २४
बुटवल, २४ कार्तिक ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा राष्ट्रिय सेवादलद्वारा संचालित सिनियर डिभिजनको निरीक्षण सोमवार सम्पन्न भएको छ ।
उक्त अवशरमा राष्ट्रिय सेवादल मध्य तालिम शिक्षालय हात्तीखोर नवलपरासी (बसुपू) का शिक्षा अधिकृत, प्रमुख सेनानी दिनेश चौलागाईंले राष्ट्रिय सेवादल २०२२ मा स्थापना भएको राष्ट्रिय सेवादलको प्रशिक्षणबाट विद्यार्थीहरुमा राष्ट्रियता, नैतिकता, अनुशासन र इमानदारितामा सकारात्मक परिवर्तन ल्याउने र राज्यलाई आवश्यकता पर्दा दिइने तालिम भएको बताए ।
कक्षा ११ र १२ मा पढ्ने उमेर भनेको मानिस सुमार्गमा लाग्नेकी कुमार्गमा लाग्ने समय भएकोले यो बेला समालिएमा घर परिवार, समाज र राष्ट्रलाई फाइदा हुने हुँदा यसको छुट्टै महत्व रहेको धारणा व्यक्त गरे ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक रामचन्द्र क्षेत्रीले राष्ट्रिय सेवादल तालिमबाट विद्यार्थीहरुमा उत्प्रेरणा प्राप्त हुने र सेवा कार्य मार्फत संघ संस्थाहरुमा नेतृत्व गर्न सक्ने र देशलाई अन्तराष्ट्रिय जगतमा चिनाउने समृद्वी ल्याउने दायित्व भएको धारणा व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले कक्षा ११ व्यवस्थापन, सिभिल इन्जिनियरिङ्ग, विज्ञान, कानुन र शिक्षा समुहका एक हजार दुई सय पचास विद्यार्थीहरुमध्येबाट विद्यार्थीले प्राप्त गरेको जिपिए, दौड, भलिवल, फुटवल, मार्शल आर्ट, र नृत्यमा भएका दक्षताका आधारमा छनौट गरिएको जानकारी गराउदै विद्यालयका असल शैक्षिक अभ्यासहरु बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय सेवादल हात्तीखोर नवलपरासीका तालिम पदिक जम शंकर खड्का, प्रशिक्षकद्वय हुद्वा शेर बहादुर कठायत, प्युठ शुशिला पुन र विद्यालयको तर्फबाट राष्ट्रिय सेवादलका समन्वय शिक्षक तथा खेलकुद प्रशिक्षक दिपक कुमार क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

