२०८२ कार्तिक २७

रवि र छविको मुद्दा एक नम्बर इजलासमा
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक २७, बिहीबार ०९:५७ गते

बुटवल २७ कात्तिक ।
सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको रवि लामिछाने र छविलाल जोशीको मुद्दाको पेसी आज तोकिएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पेसी एक नम्बर इजलासको क्रम संख्या एकमा रहेको छ । यसअघि यही कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत बिहीबार मूल मुद्दाको मिसिल झिकाउने आदेश गरेको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले दिएको जानकारीअनुसार न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रसाद अर्यालको संयुक्त इजलासमा आज पेसी परेको छ । यसअघि गत बिहीबार पनि न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा पेसी परेको थियो । सो इजलासले रुपन्देही जिल्ला अदालतबाट मूल मुद्दाको मिसिल झिकाउने आदेश गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रवि र छविको मुद्दाको सुनुवाइका क्रममा मूल मुद्दाको मिसिल झिकाउन आदेशपछि जिल्लाबाट मिसिल प्राप्त भएपछि आज अर्को पेसी तोकिएको हो । गत बिहीबार मुद्दाको सुनुवाइ अगाडि बढाउँदा बहसकै क्रममा सुरुमै यस मुद्दाको मूल मिसिल कहाँ छ भन्ने कुरा उठेपछि बहसको प्रक्रिया अगाडि बढेको थिएन ।

त्यसअघि यही कात्तिक १३ गते सो मुद्दाको सुनुवाइ स्थगित भएको थियो । सो मुद्दाको सुनुवाइका लागि १३ गते न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा दुवैको मुद्दा सुनुवाइका लागि चौथो नम्बरमा रहेको थियो । तर, जोशीका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न अनुरोध गर्दै निवेदन दिएपछि लगाउमै रहेको लामिछानेको सुनुवाइ पनि स्थगित भएको थियो ।

त्यसभन्दा अघि गत असोज ३० गते सहकारी ठगी मुद्दामा बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने लामिछाने र जोशीको मुद्दाका फाइल एक साथ पेस गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले आदेश गरेको थियो । उच्च अदालतका न्यायाधीशहरू मिलनकुमार राई र ओमप्रकाश अर्यालको संयुक्त इजलासले लामिछाने र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले दुवै फाइल एकसाथ राख्न आदेश गरेको थियो ।

त्यसको केही दिनअगाडि मात्रै जोशीको पनि कैफियत प्रतिवेदन उच्च अदालतमा प्राप्त भएको थियो । लामिछाने र जोशीले बिगोबमोजिमको रकम बुझाएर थुनामुक्त रहँदै पुर्पक्षका लागि मुद्दा लड्न माग गरेकोमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले दुवैको फाइल एकैसाथ पेस गर्न आदेश दिएको थियो । त्यसभन्दा पनि अघि उनीहरूले जिल्ला अदालतमा सोही प्रकृतिको निवेदन दिएकोमा जिल्लाले अस्वीकार गरेपछि उच्चमा गएका थिए ।