२०८२ कार्तिक २७
काठमाण्डौं २७ कात्तिक ।
नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीको मनोबल बढाएर जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि सम्बोधन गर्दै असाधारण अवस्थामा असाधारण अपेक्षा रहेकोप्रति आफू सजक रहेको बताए । असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारीलाई नेपाल सरकार गृह मन्त्रालय, अन्य सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकायहरू एवम् समुदायसँग प्रभावकारी समन्वय, सहकार्य सहित संगठनको सुदृढिकरण र सामूहिकता प्रदर्शन गरी प्रहरी कर्मचारीहरूको मनोबल बढाउँदै नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिवद्धता उनले ्रब्यक्त गरे ।
‘देशमा सुशासन कायम गर्ने र निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा विभिन्न आयामका सुरक्षा चुनौतीको विश्लेषण संरचना र मनोबलका सन्दर्भमा प्राप्त जिम्मेवारीबाट असाधारण अपेक्षाहरू रहेको तथ्यप्रति म पूर्ण रूपमा जानकार र सजग छु,’ उनले भने, ‘अन्य समुदायसँग प्रभावकारी समन्वय गर्दै संगठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै एवं प्रहरी कर्मचारीको मनोबल बढाउँदै नेपाल सरकार र आमजनसमुदायको जनअपेक्षाअनुरूप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
चन्द्रकुवेर खापुङको अवकाशपछि कार्कीले बिहीबारदेखि प्रहरी नेतृत्व सम्हालेका हुन्। उनले २९ महिना प्रहरी नेतृत्व सम्हाल्नेछन् ।

