२०८२ मंसिर ८
बुटवल ८ मंसिर ।
लुम्बिनी प्रदेश सभाको सातौं (हिउँदे) अधिवेशन आज सोबारबाट सुरु भएको छ । सातौं अधिवेसनको पहिलो बैठकमा सभामुख तुलाराम घर्तिमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाएका थिए । ती पत्रमा सातौं अधिवेशन आह्वान सम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैठौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश थिए ।
बैठकमा दलिय प्रतिनिधिका आधारमा प्रदेश सभा सदस्यहरूले शुभकामना ब्यक्त गरेका छन् ।
हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएका छन् ।
प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयकहरु प्रदेशसभामा पेश गर्नकालागि स्वीकृती दिएको छ ।
लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेश गर्न सरकारले स्वीकृत दिएको हो । लुम्बिनीमा गत भदौ ३१ गते छैठौं अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो ।
