२०८२ मंसिर १७
कपिलवस्तु १७ मंसिर ।
प्रविधिको गलत प्रयोगबाट बढ्दै गएको लैंगिक तथा घरेलु हिंसा नियन्त्रणका उद्देश्यले कपिलवस्तु प्रहरीले विद्यार्थीलाई लक्षित गर्दै जनचेतनामूलक अभियान थालेको छ ।
जिल्ला प्रहरी कार्यालयले बुधबार तौलिहवाको गौढीचोकमा सचेतना कार्यक्रम आयोजना गर्दै १३ विद्यालयलाई फ्लेक्सप्रिन्ट बोर्ड तथा चेतनामूलक स्टिकर हस्तान्तरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रविधिको दुरुपयोगबाट हुने यौन दुर्व्यवहार, ब्ल्याकमेलिङ, चरित्रहत्याजस्ता घटनाले गम्भीर रूप लिइरहेको बताउँदै विद्यालय तहबाटै सचेतना विस्तार गर्नुपर्नेमा जोड दिए ।
कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले लैंगिक हिंसा नियन्त्रणका लागि रणनीतिक योजना, प्रभावकारी अनुसन्धान र पीडित सहयोगमा सबै निकाय एकसाथ लाग्नुपर्ने बताए । कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले अनलाइन प्लेटफर्म दुरुपयोग गरी चरित्रहत्या, ब्ल्याकमेलिङ र यौन दुर्व्यवहारका घटना वृद्धि भएकाले विद्यालयस्तरमै प्रविधि–सुरक्षासम्बन्धी जागरण अत्यावश्यक भएको धारणा राखे ।
‘हाम्रो तथ्यांकअनुसार लैङ्गिक हिंसासम्बन्धी करिब ९२ प्रतिशत घटनामा पीडितले पहिले नै चिनेका व्यक्तिहरू संलग्न छन्। प्रविधिको सही प्रयोगबारे सचेतना फैलाउन यो कार्यक्रम अत्यन्तै उपयोगी हुन्छ,’ उनले भने। जिल्ला प्रहरीको तथ्यांकअनुसार कुल हिंसाका २९ प्रतिशत घटनाहरू लैंगिक हिंसा छन्। त्यसमध्ये पनि ८१ प्रतिशत घरेलु हिंसा रहेको बताइएको छ। सातै प्रदेशमध्ये लुम्बिनी प्रदेश दोस्रो धेरै लैङ्गिक हिंसा हुने प्रदेशका रूपमा रहेको छ ।
सो अवसरमा जिल्लाका सुरक्षा निकायका प्रमुख र सरोकारवालाहरूले तौलिहवाको गौढीचोकदेखि आन्दोलनचोकसम्म ¥याली निकालेका थिए। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कपिलबस्तु नगरपालिकाका १२ वटै वडालाई समेट्दै १३ सामुदायिक तथा सरकारी विद्यालयलाई चेतनामूलक फ्लेक्स बोर्ड र स्टिकरहरू हस्तान्तरण गरिएको छ ।
