२०८२ मंसिर २०

औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योगको आकर्षण
  • लुम्बिनी खोज
  • २०८२ मंसिर २०, शनिबार १३:२६ गते

बुटवल,२० मंसीर ।
रुपन्देही उद्योग संघले पुसको ३ गतेदेखि १७ गतेसम्म आयोजना गर्न लागेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव—२०८२ का लागि स्वदेशी उद्योगहरुको आकर्षण बढिरहेको छ ।
संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले स्वदेशी उद्योगहरुको उत्पादनलाई मात्रै प्राथमिकता दिएकाले सोही अनुसारका उद्योगीहरु दर्ता भइरहेको र सम्पर्कमा रहेको बताएका छन् । उनले तयारीका लागि मूल समिति, सल्लाहकार समिति, विभिन्न उपसमितिलाई पूर्णता दिनुका साथै सरकारी तथा निजी कार्यालय तथा संस्थाहरुसँगको समन्वय पूरा भएको पनि बताए । तयारीका क्रममा सोमबार नेपाल उद्योग परिसंघको समन्वयमा काठमाडौंमा पत्रकार सम्मेलनको तयारी गरिएको उनले बताए ।
शुक्रबारसम्म आधाभन्दा धेरै उद्योगहरुले आफ्नो स्टल दर्ता गराइसकेको र अन्य उद्योगहरु सम्पर्कमा रहिरहेको वरिष्ठ उपाध्यक्ष तथा स्टल दर्ता उपसमितिका संयोजक जीवकान्त काफ्लेजे जानकारी दिए । प्रचार समितिका संयोजक ईं किरण खरेलले प्रचारको काम तीव्र रुपमा अगाडि बढाइएको र शनिबार नै छिमेकी देश भारतको उत्तर प्रदेशमा रहेका व्यवसायीहरुसँग यो विषयमा अन्तरसंवाद गर्न लागेको जानकारी दिए । मंसिर पहिलो साता नै बुटवल मण्डपमा कार्यालय संचालन गरेर प्रदर्शनीको व्यवस्थापन गरिरहेको संघले विभिन्न उपसमिति गठन गरेर प्रदर्शनीको तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले बताए ।
प्रदर्शनीका लागि स्टल दर्ताका लागि उद्योगीहरुको ध्यान केन्द्रीत भएको छ । अहिलेसम्म आधाभन्दा बढी दर्ता भइसकेको र अब ठूला उद्योगहरु आउने क्रममा रहेको उनले बताए । बुटवल मण्डपमा निर्माणाधीन आधुनिक प्रदर्शनी स्थलमा स्वदेशी उत्पादन, नयां प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियनको व्यवस्था गरिएको र यस क्षेत्रमा निमार्णाधीन आधुनिक प्रदर्शनी स्थलमा आधुनिकस्तरकै स्टल निर्माण भइरहेको छ । अहिलेसम्म जुत्ता, गार्मेन्ट तथा होटलका लागि छुट्टाइएको पेभेलियन पूरा भइसकेको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए ।