२०८२ माघ १०
विश्वसम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्यसहित पुनः उत्खनन
डिलाराम भुसालकपिलवस्तु १० माघ ।
राजा शुद्धोधनको राजप्रासाद तथा सिद्धार्थ गौतमले २९ वर्ष जीवन बिताएको ऐतिहासिक स्थल तिलौराकोटमा पुनः उत्खनन सुरु गरिएको छ ।
प्राचीन कपिलवस्तुको ऐतिहासिक पहिचान बोकेको तिलौराकोट दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्यसहित पुनः उत्खनन तथा अनुसन्धान सुरु गरिएको छ । गत वर्ष फ्रान्सको पेरिसमा सम्पन्न इकोमोसकोे बैठकमा प्रस्ताव पेस भए पनि थप प्रमाण माग गर्दै ‘रिफर’ गरिएपछि आवश्यक प्रमाण जुटाउन उत्खननलाई निरन्तरता दिइएको हो ।
पुरातत्वविभागकी महानिर्देशक सौभाग्य प्रधानांगका अनुसार गत वर्ष पेरिसमा प्रस्तुत प्रमाणले सकारात्मक संकेत गरे पनि इकोमोसले थप प्रमाण माग गरेको थियो । ‘यस वर्ष त्यही मागअनुसार अघिल्लोपटक फेला परेको सेन्ट्रल कम्प्लेक्सको पुनः उत्खनन र गहिरो अनुसन्धान भइरहेको छ,’ उनले भनिन् । उनका अनुसार आवश्यक प्रमाण पूरा गरी तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने तयारी छ । नेपालका १५ वटा सम्भावित सम्पदा सूचीमध्ये तिलौराकोटलाई प्राथमिकतामा राखेर काम भइरहेको उनले बताइन् ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गुरुयोजनाअनुसार तिलौराकोटको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए । ‘तिलौराकोटलाई केवल ऐतिहासिक स्थल होइन, हेर्नलायक र बुझ्न सकिने गन्तव्यका रूपमा विकास गर्नुपर्छ,’ उनले भने । लुम्बिनी विकास कोषका सदस्यसचिव दीपक श्रेष्ठले यस वर्ष थप प्रमाण जुटाउन केन्द्रित उत्खनन गरिएको बताए । उनले पर्यटक आकर्षण बढाउने उद्देश्यले पूर्वाधार विकास गरिने र शौचालय निर्माणलगायत विषयमा छिट्टै निर्णय गरिने बताए ।
पुरातत्वविभागका प्रमुख पुरातत्वअधिकृत रामबहादुर कुँवरका अनुसार सन् २०१४ देखि पछिल्ला १० वर्षमा विज्ञ टोलीले निरन्तर उत्खनन तथा अनुसन्धान गर्दै आएको छ । विश्वसम्पदा डोसियरका लागि आवश्यक प्रमाण जुटाउन यस वर्ष संशोधित कार्ययोजनाअनुसार उत्खनन भइरहेको उनले बताए । उनका अनुसार तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र बनाउन एक दशकदेखि जग्गा अधिग्रहण जारी छ । ०७३ देखि हालसम्म ५० बिघाभन्दा बढी जग्गा अधिग्रहण भइसकेको छ भने संरक्षित क्षेत्र करिब सय बिघासम्म विस्तार भएको बताएको छ ।
विगतका उत्खननमा मौर्यकालीन पोखरीका भग्नावशेष, कुषाणकालीन सिक्का, पाञ्चमार्क सिक्का, माटोका विभिन्न आकृति फेला परेका थिए । साथै, सेन्ट्रल कम्प्लेक्स, समयमाई मन्दिर, पूर्वी प्रवेशद्वार, कन्थक स्तूप, शिवगढ तथा उत्तरतर्फको खाली क्षेत्रमा समेत उत्खनन गरिएको थियो । यस वर्ष डरहम विश्वविद्यालयका चारजना र नेपाली विज्ञसहित १४ जनाभन्दा बढीको टोलीले उत्खनन गरिरहेको हो ।