२०८१ श्रावण १२

पाँचदलीय गठबन्धनलाई जिताउन आह्वान ‘प्रतिगामीलाई चुनाबमा कारबाही स्वरुप मत दिनुहुँदैन’
  • लुम्बिनी खोज
  • २०७९ बैशाख २२, बिहीबार १७:०८ गते

बुटवल ।
बुटवलमा गठबन्धनका पाँच दल एकैठाउँ उभिएका छन् । पाँच दलका केन्द्रीय देखि नगरस्तरसम्मका नेताहरुले बुटवलमा गठबन्धनका सबै उम्मेदवारहरुलाई विजयी बनाउन लाग्नका लागि बुटवलबासीलाई अपील गरेका छन् । गठबन्धनका नेताहरुले बुटवलमा विकासका ठूला ठूला चर्चा गरिएपनि बुटवलबासीले विकासको अनुभूति गर्न नपाएकाले पाँच दल एकै ठाउँमा उभिएर नगरलाई साझा नगरका रुपमा विकास गर्ने बताएका छन् ।
संयुक्त संकल्प पत्र सार्वजनिक भएपछि बुटवलमा राम्रो वातावरण बनेको बताउँदै उनीहरुले बुटवलमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनका लागि टोलटोलबाट खटिनका लागि आह्वान गरेका छन् ।
बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर बनाउनका लागि लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आह्वान गरेका छन् ।
बुटवलमा प्रमुख पदमा नेपाली कांग्रेसबाट खेलराज पाण्डे र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीबाट चिनबहादुर गुरुङ उम्मेदवार रहेका छन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईँले यसपालि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रतिबद्ध रहेको बताए । उनले भने–‘संविधानविरोधी, राष्ट्रविरोधीलाई यसपटक जसरी पनि हराउनुपर्छ, देश बर्बाद पार्ने योजनामा रहेकाहरुलाई यसपटक जुनसुकै हालतमा पराजित गर्नुपर्छ ।’
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनालले बुटवलमा गठबन्धनले जित्ने सुनिश्चित भइसकेको बताए । ‘संविधान नै संकटमा पार्न खोज्ने, मुलुकलाई अस्थीर बनाउने, अराजकता बढाउने, भ्रष्टाचारमा मुलुकलाई चुर्लुम्म डुबाउने प्रतिगामी एमालेहरुलाई जनताले यसपटक चुनाबमा कारबाहीस्वरुप मत दिनुहुन्न, जसरी पनि हराउनुपर्छ ।’
एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले बुटवलमा यसपटक एमालेको लज्जास्पद पराजय हुने बताए ।
‘एमालेले मुलुकलाई नै धरापमा पार्न खोजिरहेको थियो, त्यसकारण जोगाउनका लागि यो गठबन्धन बनेको हो, गठबन्धनका सबै उम्मेदवारले यसपटक जित हासिल गर्छन्, गठबन्धनले जित्नु संविधानले जित्नु हो, देशले जित्नु हो, लोकतन्त्रले जित्नु हो, एमालेले हार्नु प्रतिगमनले हार्नु हो, त्यसैअनुसार गठबन्धनका उम्मेदवारलाई प्रमुखमा खेलराज पाण्डेलाई रुख चिन्हमा र उपप्रमुखमा चिनबहादुर गुरुङलाई कलम चिन्हमा मतदान गर्नका लागि म हार्दिक आह्वान गर्दछु ।’
माओवादी केन्द्रका नेता महेन्द्र भुसालले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरे । ‘बुटवलको एकदमै बदनाम भएको छ, बुटवलमा भएको बेथिति र अनियमितता रोक्नका लागि पनि यसपटक गठबन्धनले जित्न जरुरी छ, जुनसुकै हालतमा गठबन्धनलाई विजयी बनाउनुपर्छ, त्यसका लागि मुलुकलाई संकटका बेलामा काँध थाप्ने गठबन्धनलाई विजयी गराउनका लागि मतदान गर्न म सबै बुटवलबासीलाई आह्वान गर्दछु ।’
राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठले गठबन्धनलाई विजयी बनाउनका लागि बुटवलबासीलाई आह्वान गरे । ‘बुटवलमा गठबन्धनका उम्मेदवारले विजयी हासिल गर्नुपर्छ, उनले भने–राष्ट्रिय जनमोर्चा गठबन्धनका साथमा छ ।’
कांग्रेसका नेताहरु क्षेत्रीय उपसभापति परशुराम ढकाल, प्रदेश सदस्य रामबहादुर कार्की, क्षेत्रीय सचिव प्रजापाल गिरीले बुटवललाई साझा बनाउनका लागि पाँच दलीय गठबन्धनले जित हासिल गर्नुपर्ने बताएका थिए । उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि पाँच दलीय गठबन्धनले जित हासिल गर्नुपर्ने बताएका थिए ।
प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर बनाउनका लागि गठबन्धनलाई विजयी बनाउन अपील गरे ।
उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुङले बुटवलमा गठबन्धनले साझा उम्मेदवारहरु उठाएको र जिताउनका लागि अपील गरेका थिए ।
थारु समुदाय माझ पुगे गठबन्धनका उम्मेदवार

बुटवलका थारु समुदायले पाँच दलीय गठबन्धनबाट प्रमुख पदका उम्मेदवारलाई विजयी बनाउने बताएका छन् । बुटवल १६ नरैनापुरमा मतदाता भेटघाट गर्न पुगेका कांग्रेस नगर सभापति समेत रहेका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे र उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुङलाई जिताउन थारु समुदाय लाग्ने विश्वास दिलाएका छन् ।
उम्मेदवार पाण्डेले सो क्षेत्रमा थारु होमस्टे बनाउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने–‘यहाँ होमस्टे बनाउनका लागि म अगुवाई गर्छु, होमस्टे चलाएपछि नगरबाट के सहयोग गर्नुपर्छ, होमस्टे नै बनाइदिनुपर्ने हो भने पनि त्यसरी नै अघि बढाउनेछु ।’
पाण्डेले एक वार्ड एक पहिचान नीति लिइने बताउँदै एक सामुदायिक वन एक पार्क नीति ल्याउने बताए । उनले बुटवलमा अहिलेसम्म नगरकै तर्फबाट अस्पताल नभएकाले २ वटा नगर अस्पताल निर्माण गर्ने बताए ।
‘एक गृहणी एक उत्पादनः बुटवलको स्वाभिमान कार्यक्रम सञ्चालन गर्ने, कृषि मण्डी स्थापना गर्ने, बेलबास बेथरी सडक छिटै पूरा गराउने, घरबहाल कर घटाउने, हाटबजार व्यवसायीको बैठकी कर घटाउने जस्ता जनतालाई सिधै प्रभाव पर्ने कुरामा हामीले एकदमै ध्यान दिएका छौं,–उनले भने ।
यस्तै उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङले समानुपातिक विकास र मुलुकमा स्थीरता ल्याउनका लागि गठबन्धनलाई विजयी बनाउनुपर्ने बताए ।
उनले भने–‘एकपटक निर्वाचन भएपछि ५ वर्षसम्म मुलुकलाई स्थीर रुपमा चलाउनका लागि गठबन्धनलाई नै जिताउनुपर्छ, स्थानीय तहमा पनि गठबन्धनलाई जिताउनुस् ।’
कर घटाउने
नेपाली कांग्रेसले बुटवलमा घरबहाल कर घटाउने भएको छ । कांग्रेसले चुनाब जितेमा घरबहाल कर, इरिक्सा व्यवसायी कर, हाटबजार व्यवसायीको बैठकी कर घटाउने प्रतिबद्धता जनाएको छ ।
कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले बुटवलमा जनतालाई अनावश्यक भार पर्ने गरी कर थोपरिरहेको अवस्थामा नगरको आन्तरिक श्रोतको दायरा बढाएर जनतालाई राहत प्रदान गर्ने बताए ।
‘उपमहानगरका अनावश्यक र फजुल खर्च घटाएर त्यसबाट बचत हुने रकम जनताबाट लिइने करमा छुट दिइनेछ, उनले भने–जनतामाथि कर थोपर्ने, वर्षेनी बढाउने भन्दा पनि दायरा बढाएर, फजुल खर्च घटाएर जनतामाथिको भार घटाउने काम हामीले गर्नेछौं ।’