२०८३ जेष्ठ २१

बजेट कार्यान्वयन चुनौतीपूर्णः पूर्वअर्थमन्त्री पाण्डे
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ २१, बिहीबार ०७:२१ गते

बुटवल।
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सरकारले आउँदो आर्थिक वर्ष ०८३।८४ का लागि ल्याएको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । उनले बजेटको लक्ष्यअनुरूप राजस्व संकलन, वैदेशिक अनुदान, ऋण संकलन हुने स्थिति नदेखिएको भन्दै बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।

त्यस्तै, उनले बजेटमा भावनात्मक शब्द भए पनि नयाँपन केही नभएको जिकिर गरेका छन् । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अर्थतन्त्रको स्वरूप परिवर्तन गर्ने गरी चमत्कारी बजेट ल्याएको दाबी गरे पनि त्यस्तो कुनै नयाँ योजना समावेश नभएको उनको भनाइ छ ।

रूपन्देही व्यापार संघले बुधबार बुटवलमा कर तथा राजस्व नीतिलगायतका विषयमा आयोजना गरेको आर्थिक बहसमा बोल्दै नेता पाण्डेले बजेटमा शब्दमा ठुला–ठुला कुरा भए पनि पुरानै निरन्तरता रहेको धारणा राखे।

राज्य सञ्चालनका लागि राजस्व संकलन महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले बजेटको आकार बढाएर मात्रै मुलुक समृद्ध हुन नसक्ने दाबी गरे । ‘आवश्यक तयारीविना बजेटको आकार २५ प्रतिशतले बढाइएको छ । जसरी पैसा छुट्याइएको छ, जसरी कर नीति ल्याइएको छ, त्यसको आधारमा राज्य वा अर्थतन्त्रको स्वरूपै बदल्ने खालको कुनै नयाँ नक्सा कोरिएको छैन,’ उनले भने, ‘यसपालि पनि विगतका बजेटमा समावेश हुँदै आएका कार्यक्रमहरूलाई नै समेटिएको छ । तात्त्विक रूपान्तरण हुने नयाँ घोषणा केही छैनन् ।’

बजेटमा उधारो ऐन ल्याउने विषय समावेश गर्नु सकारात्मक

सरकारले बजेटमा उधारो ऐन ल्याउने विषय समावेश गर्नु सकारात्मक रहेको उनले बताए । ‘नेपालका लागि उधारो ऐन जरुरी थियो, धेरै व्यवसायीले उधारो रकम उठाउन नसक्दा टाट पल्टिएको अवस्था छ । यसले उधारो कारोबार गरेको रकम उठाउन सहज हुनेछ,’ नेता पाण्डेले भने, ‘म अर्थमन्त्री हुँदा पनि यो ऐन बनाउनुपर्छ भन्ने कुरा चलेको थियो ।’

व्यवसाय र उद्यमशीलताविना देशमा समृद्धि आउन नसक्ने नेता पाण्डेले बताए । ‘नेपालमा केही भएन भन्दै बिदेसिएर देशको विकास हुन सक्दैन, त्यसका लागि युवा शक्तिले स्वदेशमै उद्यम गर्नुपर्छ । सरकारले लगानीको वातावरण बनाइदिनुपर्छ,’ उनले भने ।

रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले बजेटले व्यवसायीहरूलाई कस्तो असर पारेको छ, राज्यको कर असुली विधि, करका दर र सिद्धान्त तथा बजेटका विविध विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिए।
कार्यक्रममा सिनियर चार्टर्ड एकाउन्टेन्ट सगुन खनालले आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयक २०८३ का विभिन्न प्राविधिक विषयवस्तुसँगै कर छुट सुविधा, आयकरमा भएका परिवर्तनहरूबारे जानकारी गराएका थिए । यस्तै व्यवसायीहरूले विभिन्न विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव प्रकाशराज पौडेलले गरेका थिए ।