२०८३ असार ३२
–मोहनविक्रम सिंह
मैले व्यक्तिगत स्वार्थको विषयमा एउटा पुस्तक लेख्ने विचार गरेको छु । त्यो मुख्य रूपले दार्शनिक प्रकारको पुस्तक हुने छ । सायद त्यो पुस्तक तयार पार्न चार–पा“च वर्षको समय लाग्ने छ । त्यो पुस्तक लेख्न त्यति समय लगाउन मेरो स्वास्थ्य र उमेरले साथ दिनेछ वा छैन ? त्यो भन्न सकिने कुरा होइन । मलाई त्यो भन्दा बढी समयसम्म बा“च्न सक्नेछु भन्ने लाग्दछ । तर जीवन र मृत्यु हाम्रो हातमा हु“दैन । त्यही पनि बाचुञ्जेल वा स्वास्थ्यले साथ दि“दासम्म मैले त्यो पुस्तक जति तयार पार्न सक्नेछु त्यसले पनि त्यो विषयलाई स्पष्ट पार्नका लागि केही न केही मद्दत गर्ने छ भन्ने मैले विश्वास गरेको छु ।
अहिले मेरो मोटामोटी सोचाइ त्यो पुस्तकलाई चार भागमा तयार पार्नेछ । प्रथम भागमा व्यक्तिगत स्वार्थ सम्बन्धी सामान्य समझदारीमाथि नै प्रकाश हाल्ने प्रयत्न गरिनेछ । दोस्रो भागमा व्यक्तिगत स्वार्थ सम्बन्धी दार्शनिक, राजनीतिक, समाजशास्त्रीय, मनोवैज्ञानिक, धार्मिक, नैतिक आदि पक्षहरूमाथि पनि प्रकाश हाल्ने प्रयत्न गरिनेछ । त्यो भागमा विभिन्न साहित्यिक रचनाहरूमा प्रकट गरिएका कथानक वा विचारहरूको पनि उल्लेख गर्ने प्रयत्न गरिनेछ । तेस्रो भागमा व्यक्तिगत स्वार्थ सम्बन्धी मान्यताहरूमाथि विस्तृत रूपले चर्चा गर्ने प्रयत्न गरिनेछ । चौथो भागमा निष्कर्ष दिइनेछ ।
माथि पुस्तकका भागहरूको जुन चर्चा गरिएको छ, तत्कालका लागि त्यो सरसरी प्रकारको विवरण नै हो । किताब लेख्ने क्रममा भागहरूको विभाजनमा संशोधन वा परिवर्तन पनि हु“दै जान सक्छ । उदाहरणको लागि दोस्रो भाग जुन विषयहरूको उल्लेख गरिएको छ तिनीहरूको विवेचना गर्ने सिलसिलामा त्यो भागको एक भन्दा बढी भागमा पनि विस्तार हुन सक्दछ । विभिन्न भागहरूमा कैयौ“ परिच्छेदहरू पनि थपिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
प्रस्तुत पुस्तक एउटा व्यक्तिगत कृति भन्दा पनि बढी सामूहिक कृति हुने छ वा मैले त्यसलाई सामूहिक रूपले नै तयार पार्ने कोसिस गर्ने छु । त्यसका लागि मैले पार्टी भित्रका साथीहरू, पार्टी बाहिरकाराजनीतिक व्यक्तित्व, साहित्यकार, बुद्धिजीवी वा दार्शनिकहरूसित पनि छलफल गर्ने प्रयत्न गर्ने छु । सम्भव भयो भने त्यस सन्दर्भमा विभिन्न छलफल वा अन्तरक्रियाका कार्यक्रमहरू आयोजित गर्ने पनि मेरो प्रयत्न हुने छ । मैले खाली देशभित्र मात्र होइन, देश बाहिर पनि त्यस प्रकारका सम्भावनाहरू खोज्ने प्रयत्न गर्ने छु । त्यसका लागि कहा“ र कुन तरिका अपनाउने त्यो कुरा व्यवहारका दौरानमा नै थाहा हु“दै जानेछ ।
त्यसको अर्को पक्ष पुस्तकालयहरूसित सम्बन्धित हुने छ । सर्वप्रथम मैले नेपालका पुस्तकालयहरूमा नै त्यस सम्बन्धी सामग्री जुटाउने प्रयत्न गर्ने छु । त्यसपछि मैले भारत वा अन्य देशका पुस्तकालयहरूमा पनि जानेर अध्ययन गर्ने प्रयत्न गर्ने छु ।
मैले आÇनो पार्टी जीवनमा पार्टीका प्रशिक्षण कार्यक्रमहरू र आÇना लेखहरू वा आÇना साहित्यिक कृतिहरूमा पनि विश्व दृष्टिकोणबारे बढी भन्दा बढी चर्चा गर्ने वा प्रकाश हाल्ने प्रयत्न गर्दै आएको छु । विश्व दृष्टिकोणको प्रधान पक्ष सर्वहारा विश्व दृष्टिकोण नै हो । त्यसले व्यक्तिगत लाभको कुनै आशा नगरिकन आफूलाई सम्पूर्ण रूपले पार्टी, क्रान्ति र शोषित, पीडित वा मेहनतकश जनताको मुक्तिको लागि समर्पण गर्ने कुरामा जोड दिन्छ । त्यो सोचाइले गीताको निष्काम सेवाको सिद्धान्तसित पनि मेल खान्छ । गीताको व्याख्या अनुसार व्यक्तिगत फलको आशा नगरिकन आÇनो कर्तव्य पूरा गर्नु नै निष्काम सेवा हो । निश्चय नै गीताको त्यो भनाइअध्यात्मवादी प्रकारको छ र त्यसले आÇनो कार्यको सम्पूर्ण फल भगवानमा समर्पित गर्ने कुरामा जोड दिन्छ । हामीले त्यस प्रकारको आध्यात्मिक सोचाइमाथि विश्वास गर्दैनौ“ । तैपनि गीताले जुन कुरामा जोड दिएको छ त्यसको सार तŒव व्यक्तिगत रूपमा प्रतिफलको आशा नगरिकन आÇनो कर्तव्य गर्दै जानु हो ।
मैले यो चाहन्छु कि यो विषयमा अरू पनि धेरैछलफल गरियोस्, विचार प्रकट गरियोस् वा लेखहरू र पुस्तकहरू तयार पारियोस् । यदि मेरो स्वास्थ्य वा उमेरका कारणले मैले यो पुस्तक तयार पार्न सकिन भने पनि अन्य व्यक्तिहरूले त्यस सम्बन्धी पुस्तक तयार पारेमा वा त्यसबारे अरू प्रकाश हाल्दै गएमा त्यो स्वागतयोग्य कुरा हुने छ ।
व्यक्तिगत स्वार्थ मानव जातिको नै एउटा अत्यन्त गम्भीर विषय हो । अर्को शब्दमा त्यो मानव जातिको नै एउटा ठुलो अभिशाप हो भने पनि अतिशयोक्ति हुने छैन । त्यसले मानव समाजलाई प्राचीन कालदेखि नै धेरै नै नोक्सान पु¥याउ“दै आएको छ । मानव जातिको प्राचीन कालदेखि अहिलेसम्मको नै इतिहासको मूल्याङ्कन गर्ने हो भने त्यो कुरा दिनको उज्यालो झै“ छर्लङ्ग हुने छ ।
व्यक्तिगत स्वार्थको उत्पत्ति व्यक्तिगत सम्पत्तिको उत्पत्तिका साथै सुरु भएको हो भन्न सकिन्छ । त्यसरी मुख्य रूपले त्यो समाजको आर्थिक संरचनाको परिणाम हो । पहिले आदिम समाजमा जसलाई माक्र्सले आदिम साम्यवादी समाज बताएका छन् त्यो बेला उत्पादन प्रणाली वा जीवनको संरचना पनि सामूहिक प्रकारको थियो र त्यो बेला व्यक्तिगत सम्पत्तिको उत्पत्ति भएको थिएन । त्यसैले त्यो बेला व्यक्तिगत स्वार्थ जस्तो कुनै कुरा पनि उत्पन्न भएको थिएन । यद्यपि त्यसको कुनै न कुनै रूपमा अस्तित्व भएको भए पनि त्यो एकदम नगन्य प्रकारको थियो र त्यसले समाजमा कुनै नकारात्मक प्रभाव पार्न सकेको थिएन । तर पशुपालन र मुख्य रूपले कृषि युगको प्रारम्भ पछि नै व्यक्तिगत सम्पत्तिको उत्पत्ति भयो र त्यसका साथै व्यक्तिगत स्वार्थ वा तेरो र मेरो भन्ने भावना पनि उत्पन्न भयो । त्यस प्रकारको भावनाले नै शोषणलाई पनि जन्म दियो । त्यसको अर्थ हो अरूको श्रमको शोषण गरेर बढी सम्पत्ति जम्मा गर्ने र बढी सुखी जीवन बिताउने आकाङ्क्षा । त्यस प्रकारको प्रवृत्तिले अरू उच्च र विकृत रूप लि“दै गयो, जसको परिणाम स्वरूप समाजमा दास युग, सामन्ती युग, पु“जीवादी युग वा साम्राज्यवाद जस्ता व्यवस्थाहरू देखा पर्दै गए । त्यस अनुसार नै धर्म, कानुन, नैतिकता, राज्य र सामाजिक व्यवस्थाहरू पनि तयार हु“दै गए ।
व्यक्तिगत स्वार्थ खाली शोषणको रूपमा मात्र हाम्रा अगाडि आउने गरेको छैन । घर–घरमा प्रत्येक परिवार वा अत्यन्त निम्न परिवारहरूमा पनि व्यक्तिगत स्वार्थले यति धेरै जरा हालेको छ कि यसले गर्दा पूरै समाज नै अत्यन्त कष्टमय बन्न पुगेको छ । व्यक्तिगत सम्पत्ति वा व्यक्तिगत स्वार्थ अनुसार नै मानिसहरूको मनोविज्ञान वा संस्कृतिको निर्माण हुन्छ र त्यस अनुसार घर–घरमा कलहहरू हुने गर्दछन् । समाजमा बाबु–छोरा, आमा–छोरी, पति–पत्नी, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, छरछिमेकी आदिका बिचमा पनि कैयौ“ प्रकारका ईष्या, डाह, झगडा, कुटपिट, मुद्दामामिला वा एक वा अर्काको हत्यासम्मका घटनाहरू घट्ने गर्दछन् । त्यस सन्दर्भमा राजपरिवारहरूमा गद्दीका लागि चल्ने काण्डहरू वा राज्य विस्तारका लागि चल्ने युद्धहरूको इतिहासले मानव जातिको इतिहास भरिएको छ र अझ वास्तवमा भन्ने हो भने इतिहासको प्रधान विषय यही नै हुने गरेको छ भने पनि फरक पर्ने छैन । यी केही उदाहरणहरूबाट यो कुरामा कुनै शङ्का रहन्न कि व्यक्तिगत स्वार्थले मानव जातिलाई कति धेरै नोक्सान पु¥याएको छ र स्पष्ट शब्दमा भन्ने हो भने त्यसले मानव समाजलाई नरक नै बनाएको छ भने पनि फरक पर्ने छैन । व्यक्तिगत स्वार्थले समाजलाई जुन धेरै क्षति पु¥याएको छ त्यसप्रति प्राचीन कालदेखि नै विद्वानहरूको धेरै नै ध्यान जाने गरेको छ ।
त्यस सिलसिलामा संसारका विभिन्न देशहरूमा दर्शन, धर्मशास्त्र, नीतिशास्त्र, समाजशास्त्र, राजनीति विज्ञान आदि सम्बन्धी कैयौ“ ग्रन्थहरू लेख्ने गरिएका छन् । तिनीहरूमा व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर समाजको हितको लागि कामगर्ने कुरामा धेरै नै जोड दिने गरिएको छ । त्यसका बाबजुद व्यक्तिगत स्वार्थको अधिपत्य कम भएको छैन र त्यो झन्पछि झन् बढ्दै गएको छ ।
यस सन्दर्भमा माक्र्सवादी–लेनिनवादी दर्शनको देन पनि धेरै महŒवपूर्ण रहेको छ । त्यसले यो कुरामा जोड दिएको छ कि अहिलेको समाज व्यवस्थाको मुख्य समस्या व्यक्तिगत सम्पत्ति नै हो । त्यसैले माक्र्सवादी दर्शनले त्यसलाई समाप्त गर्ने कुरामा जोड दिएको छ । व्यक्तिगत सम्पत्तिको अन्त्य पछि व्यक्तिगत स्वार्थको आधार पनि समाप्त हुने छ । निश्चय नै त्यसका लागि समाज लामोप्रक्रियाका बिचबाट जानुपर्ने छ । माक्र्सले समाजवाद पछि साम्यवादी समाजको मार्गचित्र प्रस्तुत गरेका छन् । त्यो समाज प्रकारान्तरले प्राचीन आदिम समाज वा आदिम साम्यवादी समाजको रूपान्तरित, विकसित वा परिमार्जित रूप हुने छ । त्यहा“ व्यक्तिगत सम्पत्ति समाप्त हुने छ र त्यस अनुरूप मानिसहरूको चिन्तन प्रणाली पनि रूपान्तरित हुने छ । त्यो कुरा त्यो बेला समाजको उत्पादन वा आर्थिक प्रणाली मात्र होइन, मानिसको जीवनशैली र चिन्तन प्रणाली पनि सामूहिक प्रकारको हुने छ । त्यो बेला व्यक्तिगत स्वार्थ पनि मूल रूपमा समाप्त हुने छ ।
माक्र्सको त्यो उद्देश्य पूरा गर्न संसारभरि नै कम्युनिस्टहरूले लामो सङ्घर्ष वा त्याग र बलिदान गर्दै आएका छन् । त्यो क्रममा रूस र चीन सहित संसारका कैयौ“ देशहरूमा समाजवादी व्यवस्थाहरू पनि कायम भए । तर समस्या के भयो भने ती देशहरूमा वा त्यहा“का कम्युनिस्ट पार्टी र समाजवादी व्यवस्थाहरूमा समेत व्यक्तिगत स्वार्थले प्रवेश गर्यो । त्यसको परिणाम के भयो भने ती देशहरूमा कायम भएका समाजवादी व्यवस्थाहरू ढल्दै गएर अब संसारमा कुनै देश पनि समाजवादी रहेको छैन । विभिन्न साम्राज्यवादी देशहरूले समाजवादी देशहरूमाथि विभिन्न प्रकारले आक्रमण वा घुसपैठ गर्दै आएका थिए । तर समाजवादी देशहरूको पतनका लागि मुख्य रूपमा त्यहा“का कम्युनिस्ट पार्टीहरू नै जिम्मेवार छन् । किनभने उनीहरूको माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा सर्वहारा विश्व दृष्टिकोणबाट विचलन हु“दै गयो र उनीहरूले सामाजिक हित भन्दा आÇना व्यक्तिगत स्वार्थहरूलाई प्राथमिकता दि“दै गए । अर्का शब्दमा उनीहरू भ्रष्ट हु“दै गए । त्यसको परिणामस्वरूप नै ती देशहरूमा समाजवादी व्यवस्थाको पतन भयो ।
प्रश्न समाजवादी देशहरूको मात्र होइन अन्य देशहरूका कम्युनिस्ट पार्टीहरूमा पनि माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट धेरै नै विचलन हु“दै गयो । उनीहरूको मानसिकतामा सर्वहारा स्पिरिटले पार्टी र क्रान्तिको, देश र समाजको सेवा गर्ने भन्दा बढी जोड व्यक्तिगत स्वार्थ पूरा गर्ने तिर नै जान थाल्यो । त्यसको परिणाम यो भयो कि संसारभरिका धेरै कम्युनिस्ट पार्टीहरूको पनि पतन हु“दै गयो र आज विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा पुगेको छ । राजनीति, धर्म, प्रशासन वा सामाजिक सेवाको क्षेत्रमा पनि व्यक्तिगत स्वार्थले धेरै नै जरा हालेको पाइन्छ । राजनीति वा प्रशासनको क्षेत्रमा त्यस प्रकारको प्रवृत्तिले कुन हदसम्म विकृत रुप ग्रहण गरेको छ ? त्यो आम रुपमा थाहा भएको कुरा हो । धर्मको क्षेत्रमा पनि विश्वव्यापी रुपमा नै भ्रष्टाचार वा सार्वजनिक सम्पत्तिको दुरुपयोगका हजारौ“ उदाहरणहरु अगाडि आउने गरेका छन् । अयोध्याको राम मन्दिरमा हालै प्रकाशमा आएको अरबौं रुपैया“को भ्रष्टाचार काण्डले पनि मन्दिर जस्तो पवित्र मानिने स्थानमा पनि व्यक्तिगत स्वार्थ कति धेरै विकृत रुपमा प्रकट हुने गर्दछ त्यो कुरामा कुनै शंका रहन्न । त्यसरी समग्र रूपमा भन्न सकिन्छ व्यक्तिगत स्वार्थ मानव जातिको नै एउटा अत्यन्त गम्भीर समस्या हो । संसारलाई बदलेर साम्यवादी समाजको निर्माणको उद्देश्य बोकेर हि“डेका कम्युनिस्टहरूको पनि त्यही कारणले पतन हु“दै गयो । त्यसकारण त्यो समस्यालाई हामीले गम्भीर रूपमा बुझ्ने र त्यसलाई बढी भन्दा बढी हल गरेर सम्पूर्ण मानव जातिको चिन्तनलाई सामाजिक रूप दिन प्रयत्न गर्नुपर्दछ । मेरो पुस्तकको मुख्य उद्देश्य त्यही हुने छ । त्यसबारे हुने सामूहिक छलफलले त्यो विषयलाई बुझ्न केही न केही मद्दत गर्यो भने त्यो खुसीको कुरा हुने छ । त्यो पुस्तक कुन रूपमा अगाडि बढ्ने छ कसरी पुरा हुनेछ ? भविष्यमा नै थाहा हुने कुरा हो ।
अन्त्यमा, मैले एउटा अर्को कुराको पनि चर्चा गर्न चाहन्छु । अहिले म ९२ वर्षमा लागँे । अहिलेसम्म मेरो मस्तिष्कले त सामान्यतः राम्रोसित काम गरेको छ । तर मेरो आ“खाको ज्योति कम भएको छ र अब मैले कुनै पुस्तक, पत्रपत्रिका पढ्न र केही लेख्न पनि सक्दिन । कानको श्रवण शक्ति पनि धेरै कमजोर भएको छ । मेरो आवाजको समस्या पनि गम्भीर भएको छ र प्रष्टसित बुझ्ने गरेर मलाई कुनै शब्द उच्चारण गर्न पनि मुस्किल पर्दछ । त्यही पनि मैले त्यो पुस्तक लेख्ने योजना बनाएको छु । त्यसको लागि मलाई अवश्य पनि पढ्न, लेख्न मद्दत गर्ने सहयोगीको आवश्यकता पर्ने छ । त्यो सम्भव हुने छ वा छैन ? त्यो पनि परिस्थितिमाथि निर्भर गर्ने छ । त्यही पनि त्यो पुस्तक सम्बन्धी अध्ययन वा लेखन सम्बन्धी कार्यलाई अगाडि बढाउन वा पूरा गर्न मैले सम्भव भएजति कोशिस गर्ने छु । त्यसका साथै मेरा मनमा अरू कैयौ“ पुस्तक लेख्ने, प्रकाशित गर्ने वा पुराना पुस्तक र लेखहरूलाई व्यवस्थित गरेर प्रकाशित गर्ने पनि सोचाइहरू छन् । तर उमेर, स्वास्थ्य वा साधन र स्रोतहरूका कारणले मैले के कति कामहरू पूरा गर्न सक्ने छु ? त्यो कुरा भविष्यले नै बताउन सक्ने कुरा हो ।