२०८३ श्रावण १

लुम्बिनी मन्त्रिपरिषद् बैठक : बजेट खर्चको समीक्षा र सचिवहरूको जिम्मेवारी हेरफेर
  • लुम्बिनी खोज
  • २०८३ श्रावण १, शुक्रबार १४:५३ गते

बुटवल ।

लुम्बिनी प्रदेश सरकारले शुक्रबारको मन्त्रिपरिषद् बैठकमा आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगतिको समीक्षा गरेको छ। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार चालुतर्फ ६७.७७ प्रतिशत र पुँजीगततर्फ ६६.८० प्रतिशत खर्च भएको जानकारी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरिएको थियो।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ।

प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेकी सुशिला अर्याललाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ। त्यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीलाई शिक्षा तथा सामाजिक विकास निर्देशनालयको जिम्मेवारी प्रदान गरिएको छ।

यसैबिच प्रमुख सचिव कृष्णप्रसाद काप्रीले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाए। उक्त प्रतिवेदनको अध्ययनपछि आगामी मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गरिने सरकारका प्रवक्ता घिमिरेले जानकारी दिए।