२०८३ श्रावण ४
बुटवल, ३ साउन ।
अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै आयोजित कार्यक्रममा गुणस्तरीय शिक्षा, अनुशासन, संस्कार र व्यक्तित्व विकासलाई विद्यालयले प्राथमिकतामा राखेको बताइएको छ।
कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले विद्यार्थीहरूले मेहनत, अनुशासन, सकारात्मक सोच र निरन्तर प्रयासमार्फत आफ्नो भविष्य निर्माण गर्नुपर्नेमा जोड दिए। अक्सफोर्डले शैक्षिक उत्कृष्टतासँगै नेतृत्व क्षमता, नैतिक मूल्य र व्यक्तित्व विकासमा पनि विशेष ध्यान दिँदै आएको उनको भनाइ थियो।
विद्यालयका प्राचार्य तथा हिसान केन्द्रीय सदस्य दिनेश भुसालले अक्सफोर्डले आधुनिक, व्यावहारिक र नतिजामुखी शिक्षण प्रणालीमार्फत विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा काम गरिरहेको बताए । विद्यालयले सक्षम, अनुशासित, नैतिक र सामाजिक उत्तरदायित्व बोध भएका नागरिक उत्पादन गर्ने लक्ष्यका साथ शिक्षण–सिकाइ गतिविधि सञ्चालन गरिरहेको उनले उल्लेख गरे ।
प्राध्यापक सुमन भुसालले विद्यार्थी जीवन भविष्य निर्माणको महत्वपूर्ण चरण भएकाले स्पष्ट लक्ष्य निर्धारण, नियमित अध्ययन, समयको सदुपयोग र सकारात्मक सोचलाई जीवनशैलीका रूपमा आत्मसात् गर्नुपर्ने धारणा राखे । उनले विद्यालयका शैक्षिक तथा अतिरिक्त क्रियाकलापबाट अधिकतम लाभ लिन विद्यार्थीहरूलाई आग्रह गरे ।
कक्षा १२ का विद्यार्थी प्रकाश पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष डाक्टर अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, सञ्चालक समिति, विभागीय प्रमुख, प्राध्यापक, व्यवस्थापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अतिथिहरूलाई टीका तथा खादा लगाएर सम्मान गरिएको थियो भने गीत, नृत्य र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। विद्यालयका पूर्वविद्यार्थी तथा लोकदोहोरी गायिका रीतु थापाको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमको सञ्चालन विद्यार्थीहरू विबेचना प्रसाई र श्रीसा न्यौपानेले गरेका थिए । स्वागत कार्यक्रमले नवआगन्तुक विद्यार्थीहरूमा विद्यालयप्रति अपनत्व, उत्साह र आत्मविश्वास बढाउनुका साथै विद्यालय परिवारबीचको सम्बन्ध थप सुदृढ भएको विश्वास व्यक्त गरिएको छ।




