२०८३ श्रावण ६

घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारीलाई रुपन्देहीमा सम्मान
  • लुम्बिनी खोज
  • २०८३ श्रावण ६, बुधबार १५:४४ गते

बुटवल, ६ साउन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई रुपन्देहीमा सम्मान गरिएको छ।

महासंघ रुपन्देही जिल्ला समितिले आयोजना गरेको सम्मान कार्यक्रममा केन्द्रीय महिला उद्यम समितिको वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित शान्ति शर्मा, केन्द्रीय सदस्य बसन्त रोक्का र कन्हैयालाल कसौधनलाई सम्मान गरिएको हो।

सम्मानपछि बोल्दै महिला उद्यम समितिकी वरिष्ठ उपाध्यक्ष शान्ति शर्माले घरेलु तथा साना उद्योग क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि केन्द्रीय तहमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले जिल्ला तहदेखि केन्द्रीय तहसम्म उद्योगी–व्यवसायीले सामना गरिरहेका समस्याप्रति सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै मुलुकको अर्थतन्त्र सुदृढ बनाउन उद्योग क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताइन्।

घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेश अधिकारीले उद्योग क्षेत्रका विद्यमान समस्या र चुनौतीबारे चर्चा गर्दै घरेलु तथा साना उद्योग क्षेत्रका समस्या समाधान गर्न सबै तहको सहकार्य आवश्यक रहेको बताए। उनले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गर्दै उद्योगमैत्री वातावरण निर्माण, उत्पादन वृद्धि तथा उद्यमशीलताको प्रवर्द्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेश अधिकारी, महिला उद्यमी संघ लुम्बिनीकी अध्यक्ष सावित्रा टण्डन, महासंघ रुपन्देहीका सल्लाहकार तेजकुमार पाठक र ज्ञानेन्द्र कसजु, निवर्तमान अध्यक्ष ध्रुवकुमार धिताल, रुपन्देही अध्यक्ष टंकनाथ अधिकारी, महिला समिति अध्यक्ष सुलोचना नेपाल, महासंघका वरिष्ठ उपाध्यक्ष देवानन्द पाण्डे, सचिव महादेव अधिकारीलगायतको उपस्थिति रहेको थियो।

महासंघ रुपन्देहीले केन्द्रीय नेतृत्वमा निर्वाचित प्रतिनिधिहरूले उद्योगी–व्यवसायीको हकहित र घरेलु तथा साना उद्योग क्षेत्रको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।