२०८३ श्रावण ६

रिभल्वर र ६ राउन्ड गोलीसहित एक युवक पक्राउ
  • लुम्बिनी खोज
  • २०८३ श्रावण ६, बुधबार १५:५३ गते

बुटवल ६ साउन ।

रुपन्देही प्रहरीले अवैध हातहतियार तथा गोलीसहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार  विशेष सूचनाका आधारमा  बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्क क्षेत्रमा शंकास्पद रूपमा हिँडडुल गरिरहेका एक युवकलाई नियन्त्रणमा लिएर खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा मकवानपुर जिल्लाको बागमती गाउँपालिका–९ निवासी २६ वर्षीय रेशम तुङसिङ मगरको साथबाट रिभल्वरमा प्रयोग हुने एक राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफ्नो स्थायी ठेगानामा लुकाइराखेको एक थान रिभल्वर र थप पाँच राउन्ड गोलीसमेत बरामद गरिएको छ । यससँगै प्रहरीले एक थान रिभल्वर र कुल ६ राउन्ड गोली बरामद गरेको जनाएको छ।

प्रहरीले उनलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालतबाट साउन ६ गते पाँच दिनको म्याद थप अनुमति प्राप्त भएपछि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।