२०८३ श्रावण ९
अर्घाखाँची ९ साउन ।
बाँदर र बँदेलबाट कृषि बाली जोगाउन अर्घाखाँचीमा वडाहरूले पनि हेरालु नियुक्तिका लागि अग्रसरता देखाएका छन् । बाँदर र बँदेलआतंकबाट कृषकको बाली दिनप्रतिदिन क्षति हुँदै गएपछि डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर हेरालु नियुक्तको प्रक्रिया अगाडि बढाएलगत्तै यहाँका पालिकाका वडाहरूमा पनि हेरालु नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ । पाणिनी गाउँपालिका– ५ ले शुक्रबार सूचना जारी गर्दै आवेदन माग गरेको छ ।
वडा कार्यालयले शुक्रबार सूचना जारी गर्दै आर्थिक वर्ष ०८३र८४ को स्वीकृत कार्यक्रमअन्तर्गत बाँदर नियन्त्रण ९धपाउने० कार्यका लागि बजेट विनियोजन भएकाले स्थानीय बासिन्दाबाट आवेदन माग गरेको जनाएको हो । सूचनाअनुसार वडा नम्बर ५ भित्रका स्थायी बासिन्दा भई ४५ वर्ष ननाघेका नागरिकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र निवेदन दर्ता गराउन सक्नेछन् । चयन भएका सातजनाले ४५ दिनसम्म बाँदर, बँदेल धपाउने कार्यमा खटिनुपर्नेछ । यस कार्यका लागि सेवा सुविधा आपसी सहमतिअनुसार उपलब्ध गराइने वडा कार्यालयले जनाएको छ । आवेदनसँग सम्बन्धित व्यक्तिको निवेदन तथा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
वडाध्यक्ष इन्द्रमणि घिमिरेद्वारा हस्ताक्षरित सूचनामा खेतीबालीको संरक्षण र किसानलाई बाँदर तथा बँदेलबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ ।
वडाले गत वर्ष पनि यसैगरी हेरालु नियुक्त गरेको भन्दै घिमिरेले गत वर्षको सिकाइबाट यस वर्ष पनि नियुक्त गर्दा किसान लाभान्वित हुने ठानेर कार्यक्रम अगाडि बढाइएको बताए । बाँदर तथा बँदेलले खेतीमा क्षति पुर्याउँदा किसानहरू धेरै मारमा पर्दै आएको अवस्थामा बाली जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले हेरालु नियुक्ति प्रक्रिया अगाडि बढाएको बताए । अन्य वडाले पनि यस कार्यक्रमबारे चासो दिएको घिमिरेले बताए ।
अर्घाखाँचीमा बाँदरको बढ्दो आतंकबाट कृषकको बाली जोगाउन डिभिजन वन कार्यालय अर्घाखाँचीले २० जना बाँदर हेरालु नियुक्त गर्न मंगलबार मात्रै दरखास्त आह्वान गरेको थियो ।
जिल्लाका बाँदरबाट अतिप्रभावित २६ क्षेत्रमा कृषि बालीको संरक्षण तथा बाँदर व्यवस्थापनका लागि वन व्यवस्थापनमा आधारित सामुदायिक सहभागितामार्फत बाँदर हेरालु नियुक्त गर्न लागिएको वन कार्यालयले जनाएको छ । वन कार्यालयले बाँदर हेरालुको कार्य अवधि ०८३ साउन १० गतेदेखि असोज १० गतेसम्म दुई महिनाको रहने जनाएको छ । नियुक्त भएका हेरालुले बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने, सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने तथा बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखी वडा र कार्यालयलाई जानकारी गराउने जिम्मेवारी पाउनेछन् । साथै, बाँदरलाई मानवीय र वातावरणमैत्री तरिकाले खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ फर्काउने काम पनि उनीहरूले गर्नुपर्नेछ ।
नियुक्तिका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रको स्थायी बासिन्दा, ४५ वर्ष ननाघेको तथा वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा रुचि भएको व्यक्ति हुनुपर्ने कार्यालयले जनाएको छ । सामुदायिक वन, वन हेरालु, नर्सरी हेरालु, नाइके हेरालु वा यस्तै प्रकृतिको काममा अनुभव भएकालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ। दरखास्तसँग निवेदन, अनुभव खुल्ने प्रमाणपत्र ९भएमा० तथा विगतमा बाँदरबाट भएको बाली क्षतिको विवरणसहित सम्बन्धित वडाको सिफारिस पेस गर्नुपर्नेछ ।
डिभिजन वन कार्यालयका अनुसार प्रभावित क्षेत्रबाट प्राप्त आवेदनको मूल्यांकन गरी आवश्यक स्थानमा हेरालु खटाइनेछ । नियुक्त हुने बाँदर हेरालुलाई मासिक पारिश्रमिक रु। १२ हजार पाँच सय तोकिएको छ । कार्यालयले बाँदरका कारण किसानले बर्सेनि व्यहोर्दै आएको बाली क्षति न्यूनीकरण गर्न स्थानीय समुदायको सक्रिय सहभागितासहित यो कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ । हेरालुको पारिश्रमिक सामुदायिक वनको कोषबाट उपलब्ध हुने गरी हेरालु नियुक्त गर्न लागिएको छ ।