२०८३ श्रावण १५

नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
  • लुम्बिनी खोज
  • २०८३ श्रावण १५, शुक्रबार १४:०२ गते

बुटवल, १४ साउन ।
रुपन्देहीको सिद्धार्थनगरबाट नक्कली भारतीय नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी समेत रहेका प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दका अनुसार शुक्रबार राति करिब ९ बजे सिद्धार्थनगर नगरपालिका–१२ मा नक्कली भारतीय नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट प्रहरी निरीक्षक मानबहादुर बिसीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर, सोहरतगढ निवासी २१ वर्षीय अभिषेक कसौधन र भारतको महाराष्ट्र निवासी २४ वर्षीय यश बाउसाहेब ब्राम्हण रहेका छन्।
प्रहरीले उनीहरूबाट भारतीय ५०० रुपैयाँ दरका १४० थान नक्कली नोट, विभिन्न कम्पनीका दुई थान मोबाइल फोन तथा दुई थान भारतीय आधार कार्ड बरामद गरेको जनाएको छ।
घटनामा संलग्न दुवै जनाविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।