२०८२ माघ २६

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँण विजयी
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ १३, शुक्रबार ००:३७ गते

उपमेयरमा एमालेकी चौधरी विजयी
बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस रुपन्देहीका सभापति समेत रहेका रामकृष्ण खाँण निर्वाचित भएका छन । उनले एमाले उम्मेदवार मोहन चापागाइँलाई ७६५ मतले हराउँदै तिलोत्तमाको नगर प्रमुख पदमा विजयी भएका हुन । तिलोत्तमाको प्रमुखमा निर्वाचित काँग्रेस नेता खाँणले २४ हजार ३९६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्दी एमाले उम्मेदवार चापागाइँले २३ हजार ६३१ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा भने फराकिलो मतान्तर सहित एमाले उम्मेदवार जागेश्वरीदेवी चाधरी विजयी भएकी छन । उपप्रमुखमा निर्वाचित चौधरीले २३ हजार ८६ मत प्राप्त गरेकी छन । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे ।
१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा ९ वटा वडाको अध्यक्षमा काँग्रेस र ८ वडाको अध्यक्षमा एमालेले जित निकालेका छन् । वडा नं १ को वडा अध्यक्षमा फर्सुराम गिरी एमाले, २ मा डिलबहादुर भट्टराई काँग्रेस, ३ मा कल्याणप्रसाद पौडेल काँग्रेस, ४ मा हरिबहादुर क्षेत्री एमाले, ५ मा रमेश डुम्रे काँग्रेस, ६ मा गणेश पाठक काँग्रेस, ७ मा देवी पंगेनी एमाले, ८ मा कृष्णप्रसाद पौडेल एमाले, निर्वाचित भएका छन ।
त्यस्तै वडा नं ९ को अध्यक्षमा ध्रुव न्यौपाने काँग्रेस, १० मा गोपालप्रसाद घिमिरे एमाले, ११ मा विष्णुबहादुर बराल क्षेत्री एमाले, १२ मा सहदेव थारु एमाले, १३ मा नारायण ढकाल काँग्रेस, १४ मा आश्विन पौडेल काँग्रेस, वडा नं १५ को अध्यक्षमा खेमराज गुरुङ एमाले, १६ मा झविलाल भुसाल काँग्रेस, र वडा नं १७ को अध्यक्षमा दानबहादुर चौधरी काँग्रेस निर्वाचित भएका छन ।