२०८१ श्रावण १२

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच गाभिने समझदारी
  • लुम्बिनी खोज
  • २०७९ असार २, बिहीबार १७:२६ गते

बुटवल  ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक–आपसमा गाभिनका लागि बिहीबार प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जरपश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँचजना र बैंक अफ काठमाण्डूको तर्फबाट दुईजना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्यांकन सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोहीअनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा पाँचवटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

मर्जरपश्चात् बैंकको कुल पुँजी ५२.२९ अर्ब, चुक्ता पुँजी रु. ३४.४१ अर्ब, कुल निक्षेप रु. तीन सय ८४ अर्ब, कुल कर्जा रु. तीन सय ८० अर्बसहित कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ । साथै, दुवै बैंकले जेठ मसान्तसम्म ६ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् । दुई बैंकहरूको तीन सय ८५ शाखा कार्यालय, तीन सय ६७ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ३७ लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।

दुवै बैंक एक–आपसमा गाभिएपश्चात् संस्थाको पुँजी वृद्धि, कार्यक्षेत्र तथा कार्यक्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवं सक्षम बैंकको रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्तालाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ । साथै, बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरू ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरूले सयुंक्त रूपमा प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताए ।  ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरू परिपालनामा सधैँ पहिलो हुने गरेको बताउँदै तदअनुरूप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए । उनले  मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसाबले सर्वोत्कृष्ट बैंक बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ क्षेत्रमा आजको दिन सधैँ संस्मरणमा रहने बताए ।