२०८१ श्रावण १२

बुटवलको अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने विषयमा छलफल
  • लुम्बिनी खोज
  • २०७९ असार ३, शुक्रबार १७:०४ गते

बुटवल ।
बुटवलको अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने विषयमा छलफल सुरु गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ र ५ मा पर्ने अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने विषयमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले छलफल सुरु गरेको हो ।
बुटवलको व्यापार व्यवसाय सुस्ताउँदै गएकाले यसलाई चलायमान गराउनको लागि रात्रीकालिन व्यवसाय सञ्चालन गर्न सकिन्छ की, सकिन्छ भने कुन अवधारणामा सञ्चालन गर्न सकिन्छ, सुरक्षा र पार्किङलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गरिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराए ।
शुक्रबार संघको सभाहलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा त्यस क्षेत्रका व्यवसायीहरुले संघले राम्रो अवधारणा अगाडि सारेको भन्दै त्यसमा व्यवसायीको साथ र सहयोग हुने बताएका छन ।
रात्रीकालिन व्यवसाय सञ्चालन गर्दा मुख्यतया शान्ति सुरक्षा र पार्किङ् मुख्य समस्याका रुपमा देखा परेका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्दा त्यहाँको भौगोलिक अवस्था, सडक पूर्वाधार र पार्किङ व्यवस्थापनलाई ध्यान दिनुपर्ने बताए । उनले अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने हो भने त्यस क्षेत्रमा सवारी आवागमनलाई पूर्ण रुपमा प्रतिवन्ध लगाउनु पर्ने भनाई राखे । अमरपथमा अहिले पनि पार्किङको समस्या भएको र रात्रीकालिन व्यवसाय सञ्चालन गर्दा पार्किङ व्यवस्थापनको लागि समाधान के हुन सक्छ ? त्यसको पनि सुझाव दिन आग्रह गरे ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले रात्रीकालिन व्यवसाय सञ्चालन गर्दा सिमित त्यस क्षेत्रको मात्रै नभएर त्यहाँ आउने सेवाग्राही घरपुग्दा सम्मको सुरक्षा व्यवस्थापन मिलाउनु पर्ने भनाई राखे । रातीको समय भएकाले चोरी, लुटपाट देखि लिएर बदला लिने सम्मका अपराधिक गतिबिधि पनि हुन सक्ने बताउँदै प्रनाउ केसीले सुरक्षामा प्रविधिको प्रयोगमा जोड दिए । उनले त्यसको लागि अन्टरनेट लाईट, सिसिटिभी जडान गर्नुपर्ने भनाई राखेका थिए ।
अमरपथलाई व्यापारिक दृष्टिले बुटवलको मुटु मानिन्छ । तर पार्किङ लगायतका समस्याका कारण पछिल्लो समय त्यहाँबाट व्यापार विस्थापित हुने र अन्य स्थानमा विस्तार हुने क्रममा छ । यसका पछाडि पार्किङको समस्या मात्रै नभएको बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ बताए । उनका अनुसार पार्किङको समस्यासंगै तिब्र रुपमा बृद्धि भएको घरभाडा पनि प्रमुख कारण हो ।
अमरपथको व्यवसायलाई चलायमान बनाउनको लागि रात्रीकालिन व्यवसाय राम्रो विकल्प हुने बताउँदै पूर्व अध्यक्ष श्रेष्ठले त्यसको लागि कस्तो बजार सञ्चालन गर्ने हो त्यसको मापदण्ड तयार गर्न सुझाव दिए ।
अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन भयो भने त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा फाईदा त्यहीँका व्यवसायी र घरधनीलाई पनि हो । यसको लाभ लिनको लागि त्यहीँका व्यवसायी र घरधनीहरुले पनि कस्तो व्यवसाय सञ्चालन गर्ने ?, के गर्दा दीगो हुन्छ ? भन्ने विषयमा सोंच्न संघका वरिष्ठ उपाध्यक्ष दिनेप्रसाद श्रेष्ठले आग्रह गरे।
अन्तरक्रिया कार्यक्रममा आफ्नो सुझाव राख्दै व्यसायी, संघका पूर्व उपाध्यक्ष हरिप्रसाद अर्यालले अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने कुरा सकारात्मक रहेको र संघले सुरु गरेको कार्यक्रमलाई प्रभावकारी बनाउने गरी योजना बनाएर अगाडि बढ्न सुझाव दिए । त्यस अवसरमा त्यस क्षेत्रका व्यवसायीहरु अनिल कुवँर, मदन अधिकारी, त्रिबिक्रम श्रेष्ठ, विष्णु पौडेल, अलिम दिन लगायतले संघले थालनी गरेको अभियान राम्रो रहेको बताउँदै सुझाव सल्लाह राखेका थिए । कार्यक्रम महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।