२०८१ श्रावण १२

देवदहमा बौद्ध विश्वविद्यालय डीन कार्यालय बनाउदैछ नयाँ पूर्वाधार
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन २७, बिहीबार ०९:१६ गते

बुटवल । बुद्ध मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालनमा ल्याएको छ । नया शैक्षिक सत्रदेखि तीन वटा देवदहबाट सञ्चालन गर्ने योजनासहित डीन कार्यालय खोलेको हो । सरकारले विश्वविद्यालयका लागि देवदहमा करिव ९० विगाहा जमिन उपलब्ध गराउने निर्णय गरेको छ । सोही जग्गामा पूर्वाधार निर्माणको काम समेत थालनी प्रक्रियामा पुगेको छ । शुक्रबार स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमा खुलेको हो । देवदहमा विश्वविद्यालयले नयाँ पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार विहान एक कार्यक्रमकाबीच डीन कार्यालयको उद्घाटन र नयाँ पूर्वाधार निर्माण स्थलको अवलोकन गरेका छन् । सो अवसरमा बोल्दै पौडेलले बौद्ध विश्वविद्यालयलाई विश्वस्तरमा चिनिने बनाउनुपर्ने बताए । ‘बौद्ध क्षेत्र, शिक्षामा अनुसन्धानसहित बहुविषयमा यसलाई विश्वस्तरमा चिनिने विश्वविद्यालय बनाउनुपर्छ, उनले भने । विश्वविद्यालको विकासका लागि सरकारले लगानी गर्ने उनले विश्वास दिलाए । देवदहमा करिव सय विगाहा जमिन प्राप्तीले समग्र क्षेत्रको विकासमा उचाई पुगेको पौडेलको भनाई छ । विश्वविद्यालयको पूर्वाधार र सडक पूर्वाधार एकैसाथ निर्माण गर्दै यसलाई पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको पौडेलले बताए । देवदहको विकासका लागि सरकारका सकारात्मक रहेको भन्दै आवश्यक योजना बनाएर ल्याउन समेत उनले आग्रह गरे । सो अवसरमा बोल्दै प्रतिनिधिसभाका सांसद छबिलाल विश्वकर्माले निकै मेहनतले देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ती गरेको भन्दै अव यसको पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने बताए । ‘यो हजारौं विद्यार्थीले भरिएको विश्वविद्यालय बन्नेछ, त्यसका लागि अहिलेदेखि नै दीर्घकालका लागि महत्व राख्ने गरी योजना बनाउनुपर्छ, उनले भने । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बौद्ध विश्वविद्यालयले देवदहको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास गरे । सो अवसरमा प्रदेश सांसद कृष्ण न्यौपाने, देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, कांग्रेसका नेता बासु रिमालले बोल्दै बौद्ध विश्वविद्यालयका पूर्वाधार छिट्टै निर्माण गर्नुपर्ने बताए । विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट देवदहमा तीन वटा विषयको पठनपाठन गरेको उपकुलपति डा. हृदयरत्न बज्राचार्यले जानकारी दिए । एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिजका स्नातकोत्तर कक्षा देवदहमा शुरु भएका हुन् । बुटवल र लुम्बिनीमा पठनपाठन गराइरहेको विश्वविद्यालयले बुटवलमा पनि डीन कार्यालय खोल्ने निर्णय गरेको छ । पछिल्लो विश्वविद्यालय सभाले डीन कार्यालयसहितको आंगिक क्याम्पस बुटवलमा खोल्ने निर्णय गरेको र त्यसको पुर्वाधार नयाँगाउँमा बन्ने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए । ‘लुम्बिनी, तिलौराकोट र देवदहसहितका बौद्ध स्थलमा बुद्ध दर्शनका पठनपाठन गर्ने योजना बनाएका छौं, अव यसले छिट्टै मूर्त रुप पाउनेछ, उनले भने । एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिज नयाँ खुलेका विषय हुने । यो संकायका डीन उकेशराज भुजुले प्राकृतिक स्रोत उपयोग गर्दै आर्थिक उपार्जन गर्ने उद्धेश्य यी पाठ्यक्रमको रहेको बताए । यो प्रयोगात्मक सहितको कक्षा सञ्चालन हुने विषय हुन । देवदहमा तपोवन सहितको पूर्वाधार निर्माण हुने विश्वविद्यालयले जनाएको छ ।