२०८१ श्रावण १२

जनयुद्ध माओवादीको मात्रै भएन, राष्ट्रकै सम्पत्ति भयो : प्रधानमन्त्री
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १, सोमबार ०७:३५ गते

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताएका हुन् । उनले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रूपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको उल्लेख गरे । उनले  सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताए । उनले भने, ‘यस पटक सरकारको नेतृत्व गर्नुलाई मैले चुनौतीपूर्ण अवसरको रूपमा लिएको छु । हामीलाई असफल हुने बिलकुलै छुट छैन ।

हामीले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नु नै पर्नेछ । यसरी मात्रै हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई ठिक ढंगले कार्यान्वयन गर्न सकिन्छ । केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौँ कोणबाट प्रश्न उठाउने कोसिसहरू भइरहेका छन् । यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले यसको औचित्य सिद्ध गर्न दृढताकासाथ अघि बढ्नुको कुनै विकल्प छैन । मैले त्यही ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट हिजो मन्त्रीपरिषद्बाट यो निर्णय गरेको हो । अब यो माओवादीको मात्रै भएन नेपाल राष्ट्रकै सम्पत्ति भयो । आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो । यसलाई ठिक ढंगले निभाउने जिम्मेवारी हाम्रै हो । यसै प्रक्रियाबाट सुशासन र विकासको नयाँ अभियानतिर लैजाने आवश्यकता छ ।

’‘हामीले अब फेरि एक पटक नयाँ सङ्कल्पसहित अघि जानुछ । म यस ऐतिहासिक दिनमा र नेपाल सरकारबाट भएको निर्णयका सन्दर्भमा पनि सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई पनि अब एकताबद्ध भएर सामाजिक न्याय र रूपान्तरणको निम्ति अघि बढ्न अपिल गर्न चाहन्छु । केही समयदेखि आन्दोलनलाई एकताबद्ध गर्ने प्रक्रिया अघि बढिसकेका छन्,’ उनले थपे, ‘मैले पनि धेरै समूहसँग छलफल गरेको छु, मलाई विश्वास छ छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ । त्यसले आम माओवादी नेता कार्यकर्ता मात्र नभई आम जनतालाई पनि एक पटक उत्साहित गर्नेछ । कम्युनिस्ट र समाजवादी आन्दोलनका शक्तिहरूसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको छ । छिटै एउटा समाजवादी मोर्चा नेपालको भोलिको नेतृत्व निर्माणमा आउने विश्वास लिएको छु ।

’२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो । उक्त युद्ध १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत टुंगिएको थियो । २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर गरेर माओवादी शान्ति प्रक्रियामा आएको थियो ।