२०८२ बैशाख २५
बुटवल २४ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा. ड्यानिएल मेउलीबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा सम्पन्न उक्त भेटमा मुख्यमन्त्री आचार्यले संघीयताको सुदृढीकरण र विकासका लागि स्विस सरकार तथा साझेदार संघसंस्थाबीच अझ सघन सहकार्य आवश्यक रहेको बताए ।
प्रदेश सरकार आत्मनिर्भरताको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा अझै साझेदारीको खाँचो रहेको धारणा व्यक्त गरे ।
यहाँहरूको तर्फबाट अहिलेसम्म स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा गरिएको योगदानको सरकारले उच्च मूल्यांकन गर्छ । आगामी दिनमा पनि यी क्षेत्रले प्राथमिकता पाउनेछन् भन्नेमा हामी विश्वस्त छौं, मुख्यमन्त्री आचार्यले भने,लुम्बिनी प्रदेश द्वन्द्वको समयमा राज्य र विद्रोही दुवै पक्षबाट पीडामा परेको क्षेत्र हो । यस प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम अघि बढाएकोमा म धन्यवाद व्यक्त गर्दछु । अहिले प्रदेश सरकारले मानसिक स्वास्थ्य रणनीतिक योजना बनाएर अघि बढेको अवस्था छ ।
स्विस राजदूत डा. मेउलीले स्विस सरकारले नेपालमा संघीय शासन व्यवस्थाको संस्थागत विकासका लागि प्रदेशको क्षमताविकासमा साझेदारी गर्दै आएको बताइन् ।
सुरक्षित आप्रवासन, मानसिक स्वास्थ्य र प्राविधिक शिक्षामा प्राथमिकताका साथ साझेदारी जारी रहेको जानकारी दिँदै उनले आगामी दिनमा प्राविधिक शिक्षामा पहुँच बढाउँदै थप सहकार्य गर्न सकिने उल्लेख गरिन् ।
राजदूतसँगको उक्त भेटमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव ईश्वरराज पौडेल लगायत सहभागी थिए ।