२०८१ श्रावण १२

सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिने
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन ४, बिहीबार ०६:३८ गते

काठमाडौं ।

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका गुल्मी क्षेत्र नं. १ का कांग्रेस सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ । उनलाई मुम्बईस्थित नेस्नल बर्न अस्पताल लैजाने तयारी भइरहेको छ ।

उनको शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको हुँदा थप उपचारका लागि  मुम्बई लैजान लागिएको हो । कीर्तिपुर बर्न अस्पतालले थप उपचार गर्न मुम्बई लैजान सिफारिस गरिसकेको छ ।  भण्डारीका स्वकीय सचिव माधव न्यौपानेले उनलाई थप उपचारका लागि मुम्बईस्थित बर्न अस्पताल लैजाने तयारी भइरहेको जानकारी दिए।

उनले भने, ‘उहाँको २५ देखि  ३० प्रतिशत भाग जलेको छ । अवस्था जटिल छ । यहाँको अस्पतालमा उपचार गर्न नसकिने भयो । अस्पतालले पनि थप उपचार गर्न  मुम्बई लैजान रिफर गरेको छ । उहाँलाई मुम्बई लैजाने तयारी भइरहेको छ ।’

घाइते भण्डारीले भने थप उपचारका लागि मुम्बई जान मानिरहेका छैनन् । पारिवारिक सल्लाहपछि जसरी पनि मुम्बई लैजाने निर्णय भएपछि उनलाई जबर्जस्ती भए पनि लैजाने तयारी भएको स्वकीय सचिव न्यौपानेले बताए ।  सँगै घाइते भएकी उनकी आमाको अवस्था पनि गम्भीर छ । आमाको शरीर ७५ प्रतिशत जलेको छ । आमालाई थप उपचार गर्न अस्पतालले सिफारिस गरेको छैन ।

स्वकीय सचिव न्यौपानेले भने, ‘उहाँको आमा अवस्था जटिल छ । शरीरको ७५ प्रतिशत भाग जलेको छ । उहाँलाई भने अस्पतालले अन्य ठाउँ लैजाने सिफारिस गरेको छैन ।’

बुद्धनगरस्थित भण्डारीको निवासमा बुधबार राति ग्यास सिलिन्डरबाट आगलागी भएको थियो । घटनामा परेर भण्डारी र उनकी ८६ वर्षीया आमा गम्भीर घाइते भएका थिए । घटनालगत्तै आमाछोरालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।