२०८१ श्रावण १२

झारफुकको बाहनामा कुटपिट गर्दा १४ बर्षिया बालिकाको मृत्यु
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २२, सोमबार १४:१२ गते

बुटवल २२ फागुन ।
रुपन्देहीको सैनामैनामा झारफुक गर्ने बहानामा कुटपिट गर्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१० झिमझिमे की १४ की सीता ज्ञवालीको शनिबार राति कुटपिटबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सीता यही फागुन १५ गतेदेखि कान दुखेर बिरामी भएकी थिइन् । परिवारले उपचारका क्रममा कम नभएपछि शनिबार स्थानीय बेमतनीस्थित झाक्री सोनिया रेश्मीकोमा लगेका थिए । सोनियाले उपचार गर्ने भन्दै कुटपिट गर्दा मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा आइतवार एक महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउछु भन्दै एक बालिकालाई भुईमा लडाई घोप्टो पारी बालिकाको शरिर माथि चढी (बसी) हातमा घण्टी बजाउदै गालामा थप्पड हान्ने, आईज, आ देखिस, कति खान्छस, मेरो पावर देखिस भन्दै हातमा रुद्राक्षको मालाले शरिरको बिभिन्न भागमा हान्ने, भुईमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक पटक जगले नाक मुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने, कपालमा समाई अनुहारको भागमा थुक्ने, खरानी खुवाईदिने र लछारपछार पारी कुटपिट समेत गरेको भिडियो फेला परेको थियो ।
त्यसपश्चात प्रहरीले अनुसन्धान अगाडी बढाउने क्रममा माता भन्ने सोनिया लाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा तत्काल उल्लेखित घटनास्थलमा गई भिडियोको आधारमा अनुसन्धान गर्दा सामाजिक सञ्जालमा प्रकाशन भएको भिडियोमा बालिकालाइ कुटपिट गर्ने महिलालाई घरबाट नै पक्राउ गरेको थियो ।
प्रहरीले सोनियाको घरबाट बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका बिभिन्न सामाग्री त्रिशुल, जग, रुद्राक्षको माला लगायतका चिजबस्तु बरामद गरेको छ ।
प्रहरीले आवश्यक अनुसन्धानको लागि माता भन्ने सोनिया रेश्मीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीमा राखी ज्यान सम्बन्धि कसुरमा ७ दिन म्याद थप भई थप अनुसन्धान भैरहेको  जनाएको छ ।