२०८१ श्रावण १२

अव्यवस्थित बसोबासीलाई लालपूर्जा
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १४, मंगलवार १२:५० गते

बुटवल, १४ चैत ।
बुटवल ७ का ७ जना अव्यवस्थित बसोबासीले लालपूर्जा पाएका छन् ।

बुटवल उपमहानगरपालिकाको सिफारिशमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपूर्जा मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गरे ।

लालपूर्जा वितरण गर्दै प्रमुख पाण्डेयले बुटवलभित्रका अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्राप्तिका लागि सबै प्रक्रियामा सहयोग गर्ने बताए ।

उनले भूमि आयोगलाई आवश्यक जनशक्तिदेखि कार्यालय व्यवस्थापनमा समेत सहयोग गरेर बुटवल क्षेत्रका लालपूर्जाविहिनलाई लालपूर्जा दिलाउने बताए ।

प्रमुख पाण्डेयले बुटवलमा अहिले भूमि आयोगमा सिफारिश गरेका ब्लकहरुको सर्भे र नापजाँचको काम अगाडि बढिरहेको बताए ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जा प्राप्त गर्न योग्य व्यक्तिलाई लालपूर्जा दिने गरी बुटवल उपमहानगरपालिकाको सहयोगमा निरन्तर काम भइरहेको बताए ।

उनले बुटवल उपमहानगरपालिकाको निरन्तर पहलकै कारण लालपूर्जा वितरण गर्न सकिएको बताउँदै बाँकी क्षेत्रको लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढेको बताए ।

कार्यक्रममा बोल्दै वडा नं. ७ का अध्यक्ष पदमबहादुर थापाले ७ जनाले लालपूर्जा पाएको र बाँकीले पनि छिटै लालपूर्जा दिने गरी भूमि आयोगले काम गरिरहेको बताए ।