२०८१ आश्विन १

जनताका आकांक्षा पूरा गर्नेतर्फ दलहरुले भूमिका खेल्नु प्रर्दछ:मन्त्री रेखा शर्मा
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १७, शुक्रबार १६:५३ गते

बुटवल, १७ चैत ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको आकांक्षा र सपना बदल्ने कुरातर्फ राजनितिक दलहरुले ध्यान दिनुपर्ने बताएकी छन । नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनको उदघाटन गर्दै मन्त्री शर्माले राजनीतिक क्रान्ति पूरा भएको अवस्थामा अव विकास निर्माण र जनताका आकांक्षा पूरा गर्नेतर्फ दलहरुले भूमिका खेल्नुपर्ने बताएकी हुन ।
यसतर्फ मिडियाले खवरदारी गर्नुपर्ने मन्त्री शर्माको भनाई छ । सरकार र सार्वजनिक निकायमा रहेका व्यक्तिहरुलाई मिडियाले खवरदारी गर्ने हो भने उनीहरुलाई जवाफदेही बनाउन सकिने पनि उनले बताइन् ।
मन्त्री शर्माले आजसम्म भएको परिवर्तनले जनतालाई के दियो भन्नेतर्फ पत्रकारिता क्षेत्रले खोतल्नुपर्नेमा जोड दिंदै कतिपय कानुन विविध कारणले बन्न नसकेका र कतिपय बनेका पनि कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण रहेको मन्त्री शर्माले बताइन ।

कार्यक्रममा  सल्लाहकार तथा निवर्तमान अध्यक्ष गोविन्द आचार्य,पुर्व अध्यक्ष तथा सल्लाहकार डा. महेन्द्र विष्ट लगायतले बोल्दै पत्रकारिता शुद्धीकरण आवश्यक रहेको भन्दै यसमा सबैले साथ दिनुपर्ने वताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी (मैत्तय) ले नेपाली चिन्तन र छलफलको केन्द्र लुम्बिनी बन्न सक्ने बताए । उनले लुम्बिनीबारे जिज्ञासा र चासो लिन आवश्यक रहेको भन्दै भगवान् बुद्ध एउटा व्यक्ति नभएर चिन्तन र समुदाय रहेको बताए ।

लुम्बिनी विश्वविद्यालयका निमित्त उपकुलपति डा. तिलकराम आचार्यले लुम्बिनीमा देशभरका पत्रकार जुट्नु आफैमा गौरवको विषय भएको बताए । उनले लुम्बिनी विश्वविद्यालय चिनाउनको लागि सबैले कलम चलाउनु पर्ने बताए ।

सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मिडिया व्यवस्थापनमा स्थानीय तहको भुमिकाका बारेमा छलफल हुनुपर्ने बताए ।

सदस्यता शुद्धीकरण अभियानमा महासंघ

सम्मेलनमा बोल्दै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघ पछिल्लो समयमा सरकारीकरण हुँदै गएको बताउँदै पत्रकार संग सम्बन्धित अन्य संगठन नचिन्ने परिपाटी विकास हुँदै गएको बताए ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले  पत्रकार महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्नुपर्ने बताए । उनले अहिलेसम्म निर्माण भएका कानुन, ऐन नियम पुर्णरुपमा कार्यान्वयनमा ल्याउन आग्रह गरे । उनले सरकारी र निजी सञ्चार प्रतिष्ठानले श्रमजीवी सञ्चार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने वताए ।

शुद्धीकरणको अभियान कसैको पुर्वाग्रही ढंगले भन्दा पनि काउन्सिल बनाएर सदस्यता दिनु पर्ने भन्दै चुनाव लड्ने भन्दा पनि पत्रकारिताको विषयमा ख्याल गर्नुपर्ने बताए ।

प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटाले नेपाली पत्रकार र सञ्चार गृहका बीचमा सघन छलफल आवश्यक रहेको बताए । उनले पछिल्लो समयमा पत्रकारका मुद्दा झनै जटिल भएको बताएका थिए ।

समाजवादी प्रेस संगठनका बरिष्ठ उपाध्यक्ष बिश्वमणि सुवेदीले पत्रकार महासंघ नै शुद्धिकरण आवश्यक रहेको बताए । उनले पत्रकार महासंघको नेतृत्व पत्रकारबाट मात्रै हुनुपर्ने बताए ।सम्मेलनमा देशभरबाट पत्रकारहरुको सहभागिता रहेको छ । सम्मेलनमा सदस्यता शुद्धीकरणको अभियानको विषयमा छलफल भएको छ । सम्मेलनमा अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतले बोलेका थिए ।