२०८१ श्रावण १२

फार्मासिष्टको दरवन्दी सिर्जना गर्न आग्रह
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २८, आईतवार १३:१३ गते

बुटवल २८ जेठ ।
नेपाल फार्मेसी संघ रुपन्देहीले स्थानीय तहहरुलाई फार्मासिष्टको दरवन्दी सिर्जना गर्न आग्रह गरेको छ । औषधिको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्ट हुनुपर्ने बताउँदै त्यसको दरवन्दी सिर्जना गर्न र कार्यान्वयन गर्नको लागि स्थानीय सरकारलाई आग्रह गरेको हो ।
नेपाल फार्मेसी संघ रुपन्देहीको शनिबार सम्पन्न दोस्रो साधारण सभामा बोल्ने फार्मासिष्टहरुले जनस्वास्थ्यसंग जोडिएको औषधीको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्ट हुनु पर्ने बताउँदै त्यसको लागि स्थानीय सरकारले कामको थालनी गर्नुपर्ने बताएका थिए । नेपाल फार्मेसी संघले ‘जहाँ औषधि त्यहाँ फार्मासिष्ट’ भन्ने विषयलाई मुल मुद्धा बनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले संघले सुरुदेखि नै ‘जहाँ औषधि, त्यहाँ फार्मासिष्ट’ मुल मुद्दा उठाउँदै आएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको भन्दै जनस्वास्थ्यसंग जोडिएको औषधिको विक्रि वितरणमा फार्मासिष्ट अनिवार्य हुनुपर्ने बताए । स्थानीय तहलाई दरवन्दी सिर्जना गर्न र निजी संस्थाले पनि फार्मासिष्ट राखेर काम गर्न उनले आग्रह गरे ।
नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष गणेश सेढाई, संघका रुपन्देही महासचिव उदय खत्री, फार्मेसी संघ रुपन्देहीका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य ध्रुवकुमार शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द्रप्रसाद तिवारी, प्रेस सल्लाहकार तथा नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, सल्लाहकारहरु सभ्यता खनाल, भोजराज बस्याल, पाल्पा जिल्ला अध्यक्ष सुर्य बस्याल, कपिलबस्तु जिल्ला अध्यक्ष रमेश शर्मा, रुपन्देहीका सामुदायिक विभाग संयोजक गणेश भण्डारी, कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष चोकलाल सापकोटा, उपाध्यक्ष भरत गिरीलगायतले फार्मासिष्टहरुको पेशागत हकहितको लागि जुटेर लाग्नुपर्ने भनाई राखेका थिए ।
साधारण सभामा अध्यक्ष गणेश सेढाईले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, महासचिव उदय खत्रीले प्रस्तुत गरेकोे महासचिवको प्रतिवेदन र कोषाध्यक्ष सुशिला वञ्जाडेले प्रस्तुत गरेकोे आर्थिक प्रतिवेदन पारित भएको छ ।
प्रेस सल्लाहकार नेपाललाई सम्मान
नेपाल फार्मेसी संघ रुपन्देहीले संघका प्रेस सल्लाहकार कविन्द्र नेपाललाई सम्मान गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा निर्वाचित भएकोमा संघका सल्लाहकार नेपाललाई सम्मान गरिएको हो । संघको दोस्रो साधारण सभामा उनलाई संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका जिल्ला अध्यक्ष गणेश सेढाईले सम्मान पत्र प्रदान गरेर सम्मान गरे ।
त्यसै अवसरमा संघमा रिक्त सदस्य पदमा महेश पाण्डे, सुवास ज्ञवाली र गुञ्जन ढकाललाई मनोनित गरिएको छ । त्यसैगरी विभागीय संयोजकमा उद्योग फार्मासिष्ट विभागको संयोजकमा रविन भण्डारी, सामुदायिक फार्मेसी विभागको संयोजकमा गणेश भण्डारी तथा पालिका संयोजकहरु पनि मनोनित गरिएको छ । मनोनित गरिएका कार्यसमिति सदस्य, विभागीय संयोजक तथा पालिका संयोजकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।