२०८२ असार ५
बुटवल, १७ असार ।
लुम्बिनी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन् । असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै बिरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन । त्यसपछि अवरुद्ध संसद् बैठक आइतबारको लागि आह्वान गरिएको थियो ।
सरकार र प्रमुख प्रतिपक्षबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा आर्थिक वर्ष २०८०/८१ का लागि लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन ।
प्रमुख प्रतिपिक्षी दल नेकपा एमालेलगायत सत्ता पक्षकै केही सदस्यको असन्तुष्टि र विपक्षीको विरोधका कारण आजसम्म पनि बजेटमाथि छलफल हुन नसकेको हो । आजको प्रदेशसभामा पनि प्रमुख विपक्षी दल एमालेका सदस्यहरूको विरोधका कारण बजेटमाथि छलफल अगाडि बढ्न नसकेपछि सोमबारसम्मका लागि स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्ष दलले बजेट संशोधनका बारेमा सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ । विपक्षी दलका प्रदेश सदस्यहरूले उभिएर विरोध जनाएका थिए । विरोधका बीचमा अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेशसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गरे । तर मन्त्री मास्की बोल्दै गर्दा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले वयल घेराउ गरेका थिए ।