२०८१ श्रावण १२

नयाँ मौद्रिक नीतिले आर्थिक गतिविधि बढ्र्छ:अर्थमन्त्री महत
  • लुम्बिनी खोज
  • २०८० श्रावण ८, सोमबार ०७:१४ गते

बुटवल ८ साउन ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले आर्थिक गतिविधि बढ्ने बताएका छन । मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने तथा यसबाट रोजगारी सिर्जना हुने र आर्थिक सिथिलता कम गर्ने उनले बताए । प्रेस युनियनले सोमवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले जग्गा कारोबार पनि सहज हुने बताए ।
मुलुक आर्थिक वृद्धिको बाटोमा उन्मुख भएको विश्लेषण गरेका अर्थमन्त्री महतले राजश्वका आधार वृद्धि गर्ने र परिणाम आउने गरी सरकारले काम गर्ने बताए । करका दायरा बढ्दा राजश्व वृद्धि हुने बताएका उनले विकास निर्माणका काम समयमै ठेक्का लगाएर खर्च गर्ने क्षमता पनि वृद्धि गर्ने गरी अगाडी बढेको बताए ।
भन्सार अनियमितता रोक्न आफूले तस्करीको सुचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन बरामद गर्न मद्दत मिलेको उनको तर्क छ । अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने भन्दै सुशासन कायम गर्ने र गैरकानुनी काम रोक्न सरकार अग्रसर रहेको बताए ।
कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. महतले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकका बारेमा पनि चर्चा गरे । उनले पार्टीमा अनुशासन कायम राख्ने, गतिशिल बनाउने बारेमा बृहत छलफल भएको बताए । बैठकबाट समसामयिक विषयमा पार्टीको दृष्टिकोण आउने भन्दै मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा लैजाने गरी पार्टीले भुमिका खेल्ने धारणा समेत राखे । त्यस्तै केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारणका सम्वन्धमा उनले आगामी बैठकहरु आवश्यकताका आधारमा प्रत्यक्ष प्रशारण गर्ने वा नगर्नेबारे निर्णय हुने बताए । बाहिर बैठकमा के के न भयो भन्ने हल्ला हुने भएकोले जनतालाई यथार्थ जानकारी दिन यस पटक बैठकको प्रत्यक्ष प्रसारण भएको उनको भनाइ छ ।