२०८१ पुष १२

लुम्बिनी प्रदेशमा भारी वर्षा :सतर्कता अपनाउन आह्वान
  • लुम्बिनी खोज
  • २०८० श्रावण ९, मंगलवार ०९:३० गते

बुटवल, ९ साउन ।
रुपन्देही सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । रुपन्देही, पाल्पा, नवलपरासी, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन । भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदीतटीय क्षेत्रका बस्ती प्रभावित हुन सक्ने जोखिम बढेको जनाइएको छ ।
नदी तटीय क्षेत्रमा बसोवास गर्ने तथा यात्रामा निस्किनेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । सोमबार रातिबाट परेको भारी वर्षाका कारण तिनाउ नदीको जल सतहले खतराको तह पार गरेको छ । मौसम विज्ञान विभागले दिउँसो १२ बजेसम्म नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको थियो ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान सार्वजनिक गरेको सूचनाअनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटवलमा जलसतह खतरा तहभन्दा निकै माथि पुगेको र यो क्रम बढ्दो रहेको छ । त्यसैले बाढीको उच्च जोखिम हुने स्थान तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानका बासिन्दालाई अपराह्नसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरिएको छ । बाढीले तिनाउ तटीय क्षेत्र कटान गरेको छ ।तिनाउ पुल र देबिनगर पक्की पुलमा तिनाउ उर्लेर करिब करिब पुलको माथिल्लो भागमा आइपुगेको छ । योगीकुटीस्थित मगरघाट पुलको उत्तरतर्फको क्षेत्रमा समेत कटान गरेको छ ।

बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईको उद्धार

बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक जना पुरूषलाई नगर प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो ।तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उदेश्य वा खोला हेर्ने उदेश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।उनले नदीकिनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाईएको बताए।
नदीकिनार क्षेत्रमा नगरप्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ ।